
नेकपा (एमाले)ले आगामी आर्थिक वर्षको बजेटलाई ठोस, परिणाममुखी र उत्पादनमुखी बनाउने दिशामा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार बसेको सचिवालय बैठकपछि आयोजित पत्रकार सम्मेलनमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बजेटका सन्दर्भमा विभिन्न महत्वपूर्ण सुझावहरू बैठकमा छलफल भएको जानकारी दिए ।
उनका अनुसार, बैठकमा नेताहरूले बजेटले नीति तथा कार्यक्रममा देखिएको दृष्टिकोणअनुसार स्पष्ट दिशा र प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए । ‘बजेट विगतमा जस्तै योजनाको छनोट, स्रोत विन्यास र प्राथमिकतामा भद्रगोल नहोस् भन्ने माग उठेको छ,’ ज्ञवालीले भने, ‘संघीय सरकारले राष्ट्रिय महत्वका योजनामा केन्द्रित हुनुपर्छ भने स्थानीय र क्षेत्रीय योजना प्रदेश तथा स्थानीय तहमा दिनुपर्ने प्रस्ताव आएको छ ।’
बैठकमा उत्पादन र उत्पादकत्व वृद्धिलाई मुख्य प्राथमिकतामा राखेर बजेट निर्माण गर्नुपर्ने सुझाव पनि आएका छन् । उपमहासचिव ज्ञवालीका अनुसार, विशेषगरी कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै किसानलाई जमिन, प्रविधि, बजार र वित्तीय पहुँचमा जोड दिने र आम्दानी वृद्धि गर्ने गरी बजेट निर्माणको माग गरिएको छ ।
युवा पुस्ता, विशेषतः ‘जेन–जी’ लाई उद्यमशीलता र सूचना प्रविधिमा संलग्न गराउने दृष्टिकोण बैठकको अर्को महत्त्वपूर्ण बुँदा थियो । ‘जेन–जीसँग सहकार्य गर्दै सूचना प्रविधिको विकास र नवप्रवर्तनलाई प्रोत्साहित गर्ने खालको बजेट आवश्यक छ भन्ने सुझाव प्राप्त भएको छ,’ उनले बताए ।
अन्तर्राष्ट्रिय भूराजनीतिक परिस्थिति र सहयोगमा देखिएको अनिश्चिततालाई पनि बैठकले गम्भीर रूपमा लिएको छ । केही दातृ निकायहरूले सम्झौता भइसकेका योजना रोकेको सन्दर्भमा सरकारको दायित्व बढ्ने भएकाले बजेटमा योजनाको प्राथमिकता यथार्थपरक हुनुपर्ने सुझाव बैठकले दिएको छ ।
साथै, सुशासन, भ्रष्टाचार नियन्त्रण र स्रोतको अधिकतम उपयोगमा विशेष ध्यान दिँदै पारदर्शी ढंगले बजेट निर्माण गर्नुपर्ने एमालेको धारणा रहेको ज्ञवालीले बताए ।
एमालेले सरकारलाई उत्पादनमुखी, रोजगारमैत्री र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा टेवा पुर्याउने दीर्घकालीन सोचसहितको बजेट ल्याउन आग्रह गरेको छ ।