
पतञ्जलि योगपीठको जग्गा अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकीकृत समाजवादीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग बयान लिएको छ। अध्यक्ष नेपालले केही दिन अघि अख्तियारको टंगालस्थित कार्यालयमै पुगेर बयान दिएको स्रोतले जनाएको छ।
२०६६ माघ १८ मा नेपाल नेतृत्वको मन्त्रिपरिषदले पतञ्जलिलाई काभ्रेमा ८१५ रोपनी जग्गा हदबन्दी छुटमा किन्न अनुमति दिएको थियो। कानुनअनुसार हदबन्दी छुटमा खरिद गरिएको जग्गा बेच्न नपाइने प्रावधान छ। तर केही महिनामै पतञ्जलिले ती जग्गा बेच्ने निर्णय गरेको पाइएको छ।
अख्तियारले यसै प्रकरणमा नेपाललाई बयानका लागि बोलाउँदा सुरुमा उनी तयार नभएको तर पछि आयोगमै उपस्थित भएर बयान दिएको जनाइएको छ। बयानका क्रममा नेपालले राजनीतिक पूर्वाग्रह राखिएको आशंका व्यक्त गरेका थिए भने अख्तियारले बयान गोप्य राख्ने आश्वासन दिएको थियो।
अख्तियारले कम्पनी विघटन भएमा हदबन्दी छुटको जग्गा स्वतः सरकारी हुने कानुनी व्यवस्था उल्ट्याउने ढंगमा मन्त्रिपरिषदले अनुमति दिएको भन्दै अनुसन्धान अघि बढाएको हो।