काठमाडाैं, वैशाख २३ :

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको निधनप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत आज प्रधानमन्त्री ओलीले प्रदीप नेपालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले आफ्नो सहयोद्धासमेत रहेका नेता नेपालको निधनले पीडाबोध भएकासमेत बताएका छन् । ‘नेकपा (एमाले)को निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका, नेपाली कम्युनिस्ट आन्दोलनका प्रखर नेता, प्रगतिशील साहित्य लेखनमा सञ्जय थापाको छुट्टै परिचय बनाएका मेरा सहयोद्धा प्रदीप नेपालको निधनले पीडाबोध भएको छ,’ प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘उहाँसँग विभिन्न जिम्मेवारीमा सहकार्यका दिनहरू झल्झली सम्झना आइरहेका छन् ।’

प्रधानमन्त्री ओलीले प्रदीप नेपाल र उनका योगदानलाई आफूहरूले सधैँ सम्झिरहने बताए । केही वर्षदेखि पार्किन्सन रोगबाट पीडित नेता नेपालको आज उपचारका क्रममा काठमाडौँस्थित नर्भिक अस्पतालमा निधन भएको थियो ।