काठमाडौं, वैशाख २५ :

शुक्रबारदेखि विश्वव्यापी प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘ऊनको स्विटर’ को प्रिमियर कमलपोखरीस्थित बिग मुभिजमा भएको छ । एक हजारभन्दा बढी अतिथि, कलाकार, राजनीतिकर्मी, सञ्चारकर्मी र शुभेच्छुकहरूको उपस्थितिमा भएको प्रिमियरले चलचित्रप्रति उच्च उत्साह देखाएको छ ।

बुधबार साँझ भएको प्रिमियरमा उपसभामुख इन्दिरा राना मगर, राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद सोबिता गौतम, सांसद विनिता कठायत, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, अभिनेता दयाहाङ राई, अभिनेत्रीहरू केकी अधिकारी, अञ्जना बराइलीलगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो । चलचित्र युनिटबाट प्रमुख कलाकारहरू विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बू, एलेक्स पारस, विल्सनविक्रम राई, निर्देशक नवीन चौहानलगायत सबैको सहभागिता रह्यो ।

चलचित्र हेरेपछि अतिथिहरूले अत्यन्त सकारात्मक प्रतिक्रिया दिएका छन् । उपसभामुख राना मगरले चलचित्रले प्रेमको गहिरो भाव प्रस्तुत गरेको भन्दै प्रशंसा गरिन् । ‘मन जितेर मात्र प्रेम हुन्छ भन्ने कुरा चलचित्रले सुन्दर तरिकाले देखाएको छ,’ उनले भनिन् । अभिनेता दयाहाङ राईले चलचित्रलाई ‘गजबको कृति’ भन्दै सबै पक्ष उत्कृष्ट रहेको प्रतिक्रिया दिए । सांसद सोबिता गौतमले चलचित्रको दृश्य, सामाजिक प्रसङ्ग र कथावस्तुलाई मनमोहक बताइन् । अभिनेत्री केकी अधिकारीले ‘ऊनको स्विटर’ आफूले हेरेका उत्कृष्ट प्रेमकथामध्ये एक भएको उल्लेख गर्दै निर्देशक नवीन चौहानको कामप्रति विशेष प्रशंसा गरिन् ।

चलचित्रका कलाकारहरू पनि भाव विह्वल देखिए । विपिन कार्कीले दर्शकको माया देखेर मन भारी भएको बताए भने मिरुना मगरले दर्शकलाई न्यानो माया दिन सफल भएको प्रतिक्रिया जनाइन् । एलेक्स पारसले पहिलो चलचित्रबाट यस्तो प्रतिक्रिया पाउँदा उत्साहित भएको बताए । परीक्षा लिम्बूले आफू पात्रमै ढल्किएको अनुभव सुनाइन् । गीत निर्देशक तथा गायक सुजन चापागाईंले प्रिमियरमा उपस्थित सबैलाई धन्यवाद दिँदै शुक्रबारदेखि चलचित्र दर्शकको जिम्मामा रहेको बताए । निर्देशक नवीन चौहानले भने, ‘प्रतिक्रियाले मलाई न्यानोपन दिइरहेको छ । यी आत्मिक प्रतिक्रियाहरू शब्दमा व्यक्त गर्न गाह्रो छ ।’

चलचित्र ‘ऊनको स्विटर’ को अग्रिम टिकट बिक्री देशभरका सिनेमा घरहरूमा सुरु भइसकेको छ । वितरक गोविन्द शाहीका अनुसार देशभर ३०० भन्दा बढी शो प्राप्त भएका छन्, जुन चलचित्रको व्यापारको लागि उल्लेख्य सङ्ख्या हो ।

सुजन चापागाईं र झुमा लिम्बूको संगीत निर्देशनमा बनेका ‘फूल’, ‘मखमली’ र ‘काफ्ले’ जस्ता गीतहरूले सामाजिक सञ्जालमा उल्लेखनीय लोकप्रियता पाइरहेका छन् । ट्रेलर र टिजरमार्फत चलचित्रले पहिल्यै दर्शकको ध्यान तानेको छ ।

आर्टमान्डू प्रालिको ब्यानरमा बनेको चलचित्र ‘ऊनको स्विटर’ मा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बू, एलेक्स पारस, विल्सनविक्रम राईसँगै सुनील पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमू, शारदादेवी सिलवाल, भावना खपाङी मगरजस्ता कलाकारको अभिनय छ । पाँचथर र फालेलुङ क्षेत्रमा छायाङ्कन गरिएको चलचित्रले नेपाली समाजको विविधता र प्रेमकथा समेट्ने प्रयास गरेको निर्देशक चौहान बताउँछन् । चलचित्रले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ ।