
काठमाडौं महानगरपालिकाको वडा नम्बर २२ ले ‘हेल्दी बडी, हेल्दी सोसाइटी’ नारासहित ‘फस्ट मिस्टर महानगर वडी विल्डिङ च्याम्पियनसिप २०८२’ का लागि आवेदन आह्वान गरेको छ । ६ वटा तौल समूहमा हुने च्याम्पियनसिपमा ५५ किलोग्राम, ६० किलोग्राम, ६५ किलोग्राम, ७० किलोग्राम, ७५ किलोग्राम र ७५ किलोग्रामभन्दा माथि तौल भएका बडी बिल्डरले आवेदन दिन सक्नेछन् ।
महानगरपालिकाको स्वास्थ्य शिक्षा समितिका संयोजक एवं वडा नम्बर २२ का अध्यक्ष चिनिकाजी महर्जनका अनुसार प्रतियोगितामा नेपाली नागरिक इच्छुक सबैले भाग लिन पाउनेछन् । उनी भन्छन्, ‘आरोग्य जीवनका लागि खेलमा पालना गर्ने अनुशासनलाई सामान्य जनजीवनमा अभ्यस्त गराउन चाहन्छौं । यसमा खानपिन, व्यायाम, आराम, निद्राजस्ता स्वस्थ्य सरीरका लागि चाहिने सबै पक्षको सन्तुलन मिलाइएको हुन्छ । यसो हुनु भनेको सामान्यत: अस्पताल जानु नपर्ने अवस्था पनि हो । यो सन्देश प्रवाहका लागि च्याम्पियनसिप आयोजना गरिएको हो ।’
पहिलो च्याम्पियनसिप पुरुषहरुका लागि आयोजना गरिएको हो । यसमा क्रमशः महिलाहरुलाई पनि सहभागी गराउँदै लैजाने योजना छ । महर्जनले सहभागिताको आगामी योजना सुनाए ।
६ क्याटागोरीका हरेक प्रथम, द्वितीय र तृतीयले क्रमशः ७५ हजार रुपैयाँ, ५० हजार रुपैयाँ र २५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् ।
वर्ल्ड बडी विल्डिङ फेडेरेसनका अन्तर्राष्ट्रिय निर्णायक एवं च्याम्पियनसिपका संयोजक ईश्वर श्रेष्ठका अनुसार प्रिजजिङ राउन्डमा हरेक तौल समूहबाट ६/६ खेलाडी छनोट गरिनेछ । हरेक समूहका ६ जनाबीचको प्रतियोगिताबाट पहिलो, दोस्रो र तेस्रो स्थानका लागि विजेता घोषणा हुनेछ । हरेक समूहबाट प्रथम स्थान हासिल गर्ने खेलाडीहरुका बीचमा मिस्टर महानगरपालिकाका लागि अन्तिम प्रतिस्पर्धा हुनेछ ।
खेलका सबै विधाका खेलाडीहरुका लागि दिइने पुरस्कार राशि १४ लाख रुपैयाँ छ । यसमा मिस्टर महानगरले ५ लाख ७५ हजार रुपैयाँ नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।
खेल सञ्चालनका लागि नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ र काठमाडौं शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोग रहनेछ । वडासँग यसरी सहकार्य गर्न पाएकोमा खेल खेलको प्रवर्धनमा ठुलो योगदान भएको फिटनेस संघका अध्यक्ष सुरेश सुवेदीले प्रतिक्रिया दिए । उनीसँगै व्यायाम व्यवसायी संघका अध्यक्ष शोभा गुरुङले यो प्रतियोगिताले सहरी निष्क्रिय आचरणमा सुधार आउने अपेक्षा राखिन् ।