
अफगानिस्तानको उत्तरी क्षेत्रमा तालिबान अधिकारीहरूले सत्ता सम्हालेयता प्रतिबन्धित वाद्यवादन र गीत गाउने १४ जनालाई शुक्रबार पक्राउ गरेको प्रान्तीय प्रहरीले शनिबार जनाएको छ ।
तालिवान सरकारले सन् २०२१ मा सत्ता कब्जा गरेदेखि नै इस्लामी कानुनप्रतिको उनीहरूको कठोर दृष्टिकोणलाई प्रतिबिम्बित गर्ने कानुन र नियमहरू निरन्तर लागु गर्दै आएको छ ।
प्रतिबन्धित गीत संगीतलाई सार्वजनिक रूपमा प्रत्यक्ष प्रदर्शनदेखि लिएर जमघटमा, रेस्टुरेन्टमा, कारमा वा रेडियो र टीभीमा बजाउनसमेत निषेध गरिएको छ । प्रहरीले एक विज्ञप्ति जारी गर्दै बिहीबार राति उत्तरी तखार प्रान्तको राजधानीमा ‘रातको समयको फाइदा उठाउँदै’ एक आवासीय घरमा भेला भई १४ जनाको एक समूहले बाजा बजाइरहेका थिए । सँगै गीत पनि गाइरहेका थिए । प्रशासनले ती गीतले जनतामा अशान्ति पैदा गरेको आरोप लगाइएको छ ।
पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको जनाइएको छ । तालिबानले अफगानिस्थानको सत्ता आफ्नो कब्जामा लिएपछि अधिकारीहरूले सङ्गीत विद्यालयहरू बन्द गरेका थिए र सङ्गीतले ‘नैतिक भ्रष्टाचार’ र सार्वजनिक अशान्ति निम्त्याएको भन्दै वाद्ययन्त्र र ध्वनि प्रणालीहरू भाँच्ने फुटाउने वा जलाउने गरेका थिए ।
विवाह घरहरूमा अहिले सङ्गीत बजाउन अनुमति छैन । तर अलग-अलग महिला समूहहरू प्रायः गोप्य रूपमा भेला भई गीत सङ्गीतको आनन्द लिने गर्छन् । अफगानिस्तानमा आफ्नो जीविकोपार्जन गुमाएपछि धेरै अफगानी सङ्गीतकर्मीहरू डरले वा कामको खोजीमा तालिवान प्रशाशित यस मुलुकबाट पलायन भएका छन् ।
तालिवान अधिकारीहरूले पूर्व सङ्गीतकारहरूलाई उनीहरूको अघिल्लो शासनमा १९९६-२००१ को शासनकालमा अनुमति दिइएको गीत-सङ्गीत सिर्जना गर्न र आफ्नो प्रतिभालाई इस्लामी कवितातर्फ केन्द्रित गर्न वा श्लोकहरूमा इस्लाम मन्त्र समेट्न प्रोत्साहित गर्ने गरेका छन् । -रासस/एएफपी