
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आर्थिक वर्ष ०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसदको दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
बैठकमा आज पनि सांसदहरूले आफ्नो धारणा राख्दै सरकारको नीति तथा कार्यक्रमबारे बोल्ने कार्यक्रम छ । साथै आज (आइतबार) प्रतिनिधिसभा बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम निर्णयार्थ पेस गर्ने कार्यसूची छ ।
नीति तथा कार्यक्रममाथि एकल र संयुक्त गरी कुल ३७ संशोधन प्रस्ताव दर्ता भएका छन् । प्रतिनिधिसभामा यही वैशाख २२ गतेदेखि नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको हो ।
सम्भावित कार्यसूचीअनुसार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव ०८२/८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
त्यसैगरी राष्ट्रियसभामा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिने सम्भावित कार्यसूची तय भएको छ । प्रधानमन्त्री ओलीले जवाफ दिएपछि नीति तथा कार्यक्रममाथि पेस भएका संशोधन प्रस्तावलाई निणयार्थ प्रस्तुत गरी आजै पारित गर्ने कार्यसूची तय भएको छ ।
राष्ट्रियसभामा पनि प्रतिनिधिसभामा जस्तै, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलको प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची निर्धारण गरिएको छ । राष्ट्रियसभाको बैठक आज दिउँसो सवा १ बजे बस्दै छ ।