
फाइल फोटो ।
पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–८ स्थित चोरमारा बजारमा रहेको गिरुबारी पुल भासिएपछि पूर्व-पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। राति करिब ९ बजेतिर एक ओभरलोड ट्रक पुलको बीच भागमा पुग्दा पुलको पूर्वतर्फको भाग भासिएपछि यातायात ठप्प भएको हो।
पुल भासिएसँगै राजमार्गमा सवारी आवागमन रोकिएको छ, जसका कारण यात्रुहरूलाई ठुलो सास्ती भएको छ। लामो तथा छोटो दूरीका सवारी साधनहरू बीच बाटोमै रोकिएका छन्।
ट्रक पार गर्ने क्रममा ट्रक रहेको स्थानमा केही तल पुल दबिएको छ । साथै पुलको छेउछाउमा समेत चर्किएको छ । ट्रक हटाएपछि मात्र पुल माथिबाट सवारी सञ्चालन गर्न सक्ने/नसक्ने यकिन हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख जनकराज बञ्जराले बताए ।
पुल भासिएपछि तत्काल यातायात व्यवस्था अवरुद्ध भएकाले मर्मत तथा पुनःनिर्माणका लागि तयारी भइरहेको प्रहरीले जनाएको छ। स्थानीय प्रशासनले तत्काल यातायात सुचारु गर्ने उपायहरूमा छलफल गरिरहेको जनाएको छ।