काठमाडौं, वैशाख ३० :

नेपाल राष्ट्र बैंकको गभर्नर बन्न अयोग्य ठहर गर्दै अर्थशास्त्री डा. विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

राजनीतिक दलको सदस्य भएकाले पौडेललाई गभर्नर नियुक्त गर्न नहुने दाबी गर्दै अधिवक्ताद्वय प्रतीभा उप्रेती र विशाल थापाले मंगलबार सर्वोच्चमा रिट दायर गरेका हुन्। 

रिटमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार राजनीतिक संलग्नता भएका व्यक्तिलाई गभर्नर नियुक्ति गर्न नपाइने उल्लेख गर्दै पौडेलको सम्भावित नियुक्ति ऐनविपरीत हुने दाबी गरिएको छ।

प्रधान सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच पौडेललाई गभर्नर बनाउने सहमति जुटेको चर्चा छ। सोही सन्दर्भमा गभर्नर छनोट समितिका सदस्य रहेका पौडेलले आइतबार समितिबाट राजीनामा दिएका थिए। यसअघि गभर्नरको दौडमा रहेका डा. गुणकर भट्टविरुद्ध पनि सर्वोच्चमा रिट दायर भइसकेको छ।

तर, नेपाली कांग्रेसले भने उनले साधारण सदस्यसमेत त्यागिसकेको जनाएको छ।  कांग्रेस चितवनका सभापति राजेश्वर खनालले ०७९ सालपछि पौडेलको सक्रिय सदस्यता नवीकरण नभएको दाबी गरे। पौडेल ०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा  चितवन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका थिए। त्यसबेला उनी कांग्रेसको महासमिति सदस्य थिए।