काठमाडौं, वैशाख ३० :

आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गतको खेलमा नेपाल हङकङ चाइनासँग ७ विकेटले पराजित भएको छ। वर्षाले प्रभावित खेलमा दुवै टिमलाई ५–५ ओभर मात्र खेलाइएको थियो। 

हङकङको मलेसियास्थित बैयु मास ओभलमा मंगलबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५ ओभरमा ३ विकेट गुमाएर जम्मा २९ रन मात्र बनाउन सक्यो। जवाफमा हङकङले ४.१ ओभरमै ३ विकेट गुमाउँदै लक्ष्य भेटायो।

नेपालका लागि कविता कुँवरले दुई विकेट लिँदै राम्रो प्रयास गरेकी थिइन्। तर चौथो ओभरमा बलिङ गर्न आएकी पूजा महतोले १३ रन खर्चिएपछि नेपाल दबाबमा आयो।

हङकङले तीन ओभरमा २ विकेट गुमाएर १४ रन बनाएको अवस्थामा चौथो ओभरमै लय समात्यो। पुजाले दुई ओभरमा १९ रन दिँदा नेपाल लो स्कोर खेलमा पराजित हुन पुग्यो। यसअघि नेपालले समूह चरणमा बहराइनलाई हराएको थियो भने हङकङसँगको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो।