काठमाडौं, वैशाख ३१ :

सरकारले संक्रमणकालीन न्यायसँग सम्बन्धित बेपत्ता छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगलाई पूर्णता दिने तयारी गरेको छ।

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा गठित सिफारिस समितिले अध्यक्षसहित १० जनाको नाम सिफारिस गरी कानुन मन्त्रालयमा बुझाएपछि आज साँझ ६ बजे बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने तयारी गरेको हो।

स्रोतका अनुसार, बेपत्ता छानबिन आयोगको अध्यक्षमा पूर्वमुख्यसचिव लीलादेवी गड्तौला र सत्यनिरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा पूर्वन्यायाधीश महेश थापा सिफारिस भएका छन्। गड्तौला एमाले र थापा कांग्रेसको कोटाबाट सिफारिस भएका भए पनि तीन ठूला दलबीच सहमति भएको बुझिएको छ। कानुन मन्त्री अजयकुमार चौरसियाले आयोगहरूलाई पूर्णता दिने तयारी भएको बताएका छन् ।

२०५२ सालदेखि २०६३ सालसम्मको सशस्त्र द्वन्द्वका क्रममा भएका गम्भीर मानवअधिकार उल्लङ्घन र मानवता विरोधी अपराधहरूको छानबिन गर्न र मेलमिलापको वातावरण बनाउने उद्देश्यले आयोग गठन गरिएको हो। यसअघि गठित आयोगमा ६३ हजारभन्दा बढी उजुरी परे पनि काम नसकिँदै म्याद सकिएको थियो। आयोगले पूर्णता पाएपछि पीडितलाई न्याय र राहत दिने अपेक्षा गरिएको छ।