रूपन्देही, भदौ १८ :
रूपन्देहीको भैरहवामा नयाँ पेट्रोलियम भण्डारण गृह निर्माणका लागि जग्गा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ ।
नेपाल आयल निगमले रूपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा करिब १४ बिघा जग्गामा लुम्बिनी प्रदेशस्तरीय इन्धन भण्डारण डिपो निर्माणको तयारी गरिरहेको हो।
पहिलो चरणमा जग्गा व्यवस्थापन र दोस्रो चरणमा भण्डारण ट्याङ्क निर्माण गरिने परियोजना संयोजक इन्जिनियर प्रदीप यादवले जानकारी दिनुभयो ।
पहिलो चरणअन्तर्गत जग्गाको पश्चिमी र उत्तरी क्षेत्रमा रोहिणी खोलामा आउने बाढीबाट हुनसक्ने क्षति रोक्न ‘ग्याबिन’ र ‘रिटेनिङ’ पर्खाल लगाउने काम ८० प्रतिशत सम्पन्न भएको छ।
निगमले तीनवटा ठेकेदारमार्फत गत जेठ १८ गतेदेखि भण्डारण गृहको जग्गा व्यवस्थापनका काम गरिरहेको छ ।