
प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘ऊनको स्विटर’ ले रिलिजको पहिलो सातामै ५ करोड ७५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । निर्माण कम्पनी आर्टमान्डू नेपाल प्रालिले शुक्रबार बिहान आधिकारिक रूपमा कलेक्सन रिपोर्ट सार्वजनिक गरेको हो ।
नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रले रिलिजको पहिलो दिनदेखि नै दर्शकको मन जित्दै हलहरूमा हाउसफुल शोहरू दिन थालेको थियो । सात दिनको अवधिमा देशभरका सिनेमा घरहरूमा दैनिक ३०० भन्दा बढी शोसहित प्रदर्शनमा रहेको यो चलचित्र आजबाट दोस्रो सातामा प्रवेश गरेको छ ।
दोस्रो सातामा अन्य नयाँ चलचित्रहरूको रिलिजको बाबजुद पनि करिब २ सय शोसहित ‘ऊनको स्विटर’ले प्रदर्शन आरम्भ गरेको छ । दोस्रो साताको पहिलो दिन पनि दर्शकको चासो उत्तिकै कायम रहेको देखिएको छ ।
दर्शकको स्वतन्त्र समीक्षाबाट चलचित्रले चर्चा कमाइरहेको छ । कलाकारहरू विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बू, एलेक्स पारस, विल्सनविक्रम राई, सुरज तमू, भावना खपाङी मगर र सुनील पोखरेलको अभिनय छ ।
चलचित्रको पछिल्लो रिलिज गीत ‘चाइनेजो जिन्दगानीमा’ गीतले युट्युब र टिकटकमा सनसनी मच्चाएको छ । त्यसअघि सार्वजनिक भएका ‘फूल’, ‘मखमली’ र ‘काफ्ले’ जस्ता गीतहरूले पनि करोडौं स्रोताको मन जितिसकेका छन् । यसको ट्रेलर पनि युट्युब ट्रेन्डिङको पहिलो स्थानमा छ ।
हलमा दर्शकको उत्साहजनक उपस्थिति कायम रहँदा दोस्रो साताबाट देशव्यापी कलाकार परिचय तथा प्रचार भ्रमण थालिने भएको छ । निर्देशक नवीन चौहानका अनुसार भ्रमण दमौलीबाट सुरु भई पोखरा, चितवन, बुटवल, दाङ, नेपालगन्ज, धनगढी, दमक, धरान, विराटनगर र इटहरीसम्म विस्तार हुनेछ । भ्रमणमा अभिनेता विपिन कार्की, अभिनेत्री परीक्षा लिम्बू, एलेक्स पारस, गायक सुजन चापागाईं सहभागी हुनेछन् ।