काभ्रे, जेठ ३ :

काभ्रेको धुलिखेल नगरपालिका–७ स्थित सञ्जीवनी चोकमा शनिबार बिहान बिजुलीको पोलमा काम गर्ने क्रममा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ।

११ हजार भोल्ट क्षमताको हाइटेन्सन लाइनमा पोल चढेर तार जोड्ने क्रममा अचानक करेन्ट लागेर सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ घारिबथानका २८ वर्षीय उपेश नेपाली (परियार)  को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी मीन बहादुर घलेले जानकारी दिए।

उनी नेपाल विद्युत प्राधिकरणको काममा खटिएका थिए। प्राधिकरणले पूर्वसूचना नदिई लाइन सञ्चालन गरेपछि दुर्घटना भएको स्थानीयको आरोप छ ।

मृतकको शव पोस्टमार्टमका लागि धुलिखेल अस्पताल पठाइएको छ भने घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरको नेतृत्वमा टोली खटिएको प्रहरीले जनाएको छ।