काठमाडौं, जेठ ३ :

सरकारले जटिल रोग लागेका बिरामीको स्याहार तथा उपचार लक्षित गरी नेपाल प्रशामक सेवा राष्ट्रिय रणनीति स्वीकृत गरेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जीवन सीमित भएका जटिल बिरामीको स्याहार तथा उपचार लक्षित गरी नेपाल प्रशामक सेवा राष्ट्रिय रणनीति २०२५-२०३५ स्वीकृत गरेका हुन् ।

क्यान्सर, हृदय रोग, फोक्सो रोगी, अल्जाइमर्स, पार्किक्न्सन्स, मिर्गौलासम्बन्धी रोगजस्ता दीर्घकालीन जीवनलाई चुनौती दिने अवस्थामा प्रदान गरिने प्रशामक सेवाका लागि सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्थालाई तयार पार्ने उद्देश्य रणनीतिले बोकेको छ । प्रशामक सेवा अथवा प्रशामक हेरचाहलाई मेडिकल भाषामा प्यालिएटिभ केयर भनिन्छ ।

नेपालमा क्यान्सर रोगीहरुका लागि यस्तो सेवा भए पनि जीवन सीमित भएका अन्य बिरामी तथा परिवारका लागि स्वास्थ्य समस्या र त्यससँग जुध्न सक्ने गरी प्रशामक सेवा उपलब्ध छैन ।

मन्त्री पौडेलले स्वीकृत गरेको रणनीतिले स्वास्थ्य संस्थाहरुले त्यस्ता जटिल र उपचार सम्भव नदेखिएका बिरामीहरुको स्याहार, हेरचाह तथा परिवारलाई समस्यासँग जुध्न सहायता गर्ने अवस्थामा जोड दिएको छ ।

रणनीतिले यसका लागि हरेक तहका स्वास्थ्य संस्थालाई जनशक्ति निर्माण तथा सीप अभिवृद्धि गर्ने लक्ष्य लिएको छ । यसैगरी हरेक स्वास्थ्य संस्थाबाट आवश्यक औषधी तथा स्तरीय सेवा दिने उद्देश्य पनि रणनीतिले बोकेको छ ।

रणनीति स्वीकृत भएसँगै अब धेरै नागरिकले भोग्दै आइरहेका जटिल प्रकृतिका समस्याको सामना गर्न परिवार, समाज तथा राज्यलाई प्रेरणा र सहायताका लागि सहज हुने अपेक्षा गरिएको छ ।

मन्त्रालयले रणनीतिलाई प्रभावकारी रुपमा अघि बढाउने प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

मन्त्री पौडेलको निजी सचिवालयका अनुसार हरेक स्वास्थ्य संस्थाबाट आवश्यक औषधी तथा स्तरीय सेवा दिने उद्देश्य पनि रणनीतिमा समावेश छ । रणनीति स्वीकृत भएसँगै जटिल प्रकृतिका रोगको सामना गर्न परिवार, समाज तथा राज्यलाई सहज हुनेछ ।