
सङ्घीय संसद् अन्तर्गत आज विभिन्न तीनवटा समितिका बैठक बस्दैछन् ।
आज अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति तथा संसदीय सुनुवाइ समितिको बैठक बस्न लागेको हो ।
बिहान १० बजे सिंहदरबारमा बस्ने अर्थ समितिको बैठकमा बैङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि संशोधन कर्तासँग छलफल गर्ने कार्यसूची रहेको छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक पनि बिहान १० बजे बस्नेछ । आजको बैठकमा परराष्ट्र मन्त्री आरजु राणा देउवाको हालै सम्पन्न भारत भ्रमण र राजदूत नियुक्ति सम्बन्धमा छलफल हुनेछ ।
बिहान ११ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा विभिन्न देशका लागि प्रस्तावित नेपाली राजदूतहरूको सुनुवाइ हुने संसद् सचिवालयले जनाएको छ ।
समितिले हिजो विभिन्न मुलुकका लागि सिफारिस १७ जना मध्य इजरायल, मलेसिया, पाकिस्तान र पोर्चुगलका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकेको छ ।