पोर्चुगल, भदौ १९ :

अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) पोर्चुगलको अध्यक्ष पदमा सूर्य खड्का चयन हुनुभएको छ ।

लिस्बनमा सम्पन्न भएको समाजको विशेष अधिवेशनले आगामी चारवर्षे कार्यकालका लागि ५३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा धर्मध्वज लामा, मनोज कठायत, नरेश भाट , जयसुजन केसी र महिला उपाध्यक्षमा कल्पना भण्डारीलाई चयन गरेको छ । 

समाजको महासचिवमा प्रशान्त घिसिङ, सचिवमा विवश कटुवाल र कोषाध्यक्षमा एनडी शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । अधिवेशनले सुरज पौड्यालको संयोजकत्वमा सात सदस्यीय सल्लाहकार समिति चयन गरेको समाजले जनाएको छ ।

समाजले विश्वभरका नेपालीलाई सङ्गठित गर्दै नेपाल र नेपालीको हित र विकासका लागि काम गर्दै आइरहेको समाजका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरेले बताउनुभयो । विश्वभरका विभिन्न मुलुकमा गरी ८३ देशमा समाजको राष्ट्रिय समिति गठन भइसकेको उहाँले बताउनुभयो ।