ताप्लेजुङ, जेठ ८ :

बुधबार राति १० बजेबाट बन्द भएको मेची राजमार्ग करिब १२ घण्टापछि खुलेको छ। पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको बीचमा बग्ने हेवाखोलामा आएको बाढीले ह्युमपाइप बगाउँदा राजमार्ग बन्द भएको थियो।

सडक डिभिजन कार्यालय इलामका इन्जिनियर लक्ष्मण बरालका अनुसार विहानैदेखि मेसिनको सहयोगमा मर्मत कार्य सम्पन्न भएपछि राजमार्ग सुचारु भएको हो।

सडक खुलेसँगै ताप्लेजुङबाट पाँचथर, इलाम, झापा, मोरङ र सुनसरीतर्फ जाने सवारीसाधन फेरि चल्न थालेका छन्। सडक बन्द हुँदा यात्रु र स्थानीय बासिन्दालाई ठुलो समस्या परेको थियो।

ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष विकास गौतमले अबको समयमा बेलिब्रिज बनाउन जरुरी रहेको बताएका छन्। बेलिब्रिज बनेपछि मात्रै यस्तो समस्या दोहोरिन नदिने उनको भनाइ छ।

सडक डिभिजन इलामका अनुसार हेवाखोलामा नयाँ बेलिब्रिज बनाउन झण्डै ८० प्रतिशत काम सकिएको छ। बाँकी काम जेठ २५ भित्र सक्ने तयारी गरिएको छ। गत असोजमा आएको बाढीले पुरानो बेलिब्रिज बगाएको थियो।