
नेपाल पर्यटन बोर्डको आयोजनामा बुद्धिस्ट ट्राभल मार्ट (बीआईटीएम) २०२५ सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शुक्रबार काठमाडौंमा मार्टको औपचारिक उद्घाटन गरेका हुन् ।
बीआईटीएम २०२५ उद्घाटन गर्दै मन्त्री पाण्डेले नेपाललाई बौद्ध, आध्यात्म र शान्ति पर्यटनको विश्व केन्द्रको रूपमा स्थापित गरिने विश्वास व्यक्त गरेका छन् । ‘बुद्धको जन्मभूमि लुम्बिनीबाट सुरु भएको शान्तिको सन्देश आज पुनः नेपालबाटै विश्वभर फैलाउने समय आएको छ,’ उनले भने ।
त्यसैगरी मन्त्री पाण्डेले लुम्बिनीलाई ‘अन्तर्राष्ट्रिय शान्ति सहर’ का रुपमा विकास गर्नेसमेत बताएका छन् । उनले भने, ‘बुद्धको जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति सहरका रुपमा विकास गर्न सरकार प्रतिबद्ध छ । त्यसैगरी लुम्बिनीमा कपिलवस्तु, रामग्राम, देवदह र तिलौराकोटलगायत प्रमुख सर्किटमा केन्द्रित हुँदै बौद्ध पर्यटनलाई प्राथमिकता दिइएको छ ।’
मन्त्री पाण्डेले बौद्ध पर्यटन प्रवर्धनका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र सडक सञ्जालको प्रभावकारी पहुँच स्थापित गर्ने काम भइरहेकोसमेत बताएका छन् । उनले थपे, ‘युनेस्कोका प्रतिनिधिसँगको पछिल्लो संवादलाई उल्लेख गर्दै लुम्बिनीलाई जोखिमयुक्त सूचीमा नराख्न आग्रह गरेका छौं । साथै तिलौराकोटलाई युनेस्कोको सम्भावित सूचीमा समावेश गराउन सरकारले पहल गरिरहेको छ ।’
मन्त्री पाण्डेले मुलुक शान्ति र समृद्धिको नयाँ युगतर्फको यात्राको रहेकाले विश्व शान्तिको चाहना राख्नेलाई नेपाल भ्रमण गर्नसमेत आग्रह गरेका छन् ।
कार्यक्रममा कोसी प्रदेशका उद्योग, पर्यटन तथा वातावरणमन्त्री षडानन्द मण्डलले पनि शुभकामना दिँदै प्रदेश सरकारले पर्यटकीय पूर्वाधार विकासमा उच्च प्राथमिकता दिएको बताएका छन् ।
बीआईटीएम २०२५ को उद्घाटन समारोहमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले ‘नेपाल एक यात्रा गन्तव्य मात्र होइन नभएर अनुभूति’ भएको बताएका छन् । सीईओ जोशीले नेपाललाई आध्यात्मिक र शान्तिको आधारशीला भएको मुलुकका रूपमा प्रस्तुत गर्दै यसप्रकारको अन्तर्राष्ट्रिय कार्यक्रम साझा प्रतिबद्धता र सार्थक सहकार्यको प्रमाण भएको बताएका छन् ।
उनले भने, ‘नेपाल यात्रा गन्तव्यमा पुग्ने भौगोलिक पथ मात्रै होइन, यो आत्मा र शान्तिको यात्राको प्रारम्भ हो । यहाँको बौद्ध सम्पदा, ध्यान केन्द्र, सांस्कृतिक विविधता र आत्मिक ऊर्जा विदेशी पाहुनाका लागि सधैं सन्देशवाहक बन्न सक्छन् ।’ जोशीले बीआईटीएमजस्ता प्लेटफर्महरूलाई अन्तर्राष्ट्रिय साझेदारी, दिगो पर्यटन र आध्यात्मिक पुनर्जागरणको यात्रा आरम्भ गर्ने अवसरका रूपमा चित्रण गरेका छन् ।
उनले थपे, ‘नेपाललाई हामी विश्वको सबैभन्दा प्रामाणिक आध्यात्मिक गन्तव्यका रूपमा प्रस्तुत गर्दै छौं । बौद्ध सर्किटजस्ता महत्त्वपूर्ण योजनाहरूले नेपालको पर्यटनलाई अर्थपूर्ण सम्पर्क र दिगो भविष्यतर्फ डोर्याउनेछन् ।’
कार्यक्रममा नाटाका अध्यक्ष कुमारमणि थपलियाले शान्ति र अध्यात्म पर्यटनमा बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट उपयेागी बन्ने विश्वास व्यक्त गरेका छन् । त्यसैगरी नेपाल उद्योग, वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस किसिमका अन्तर्राष्ट्रिय मार्टले नेपालको पर्यटन प्रवर्धनमा टेवा पुग्ने बताए ।
कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारकेल लामाले नेपाल शान्तिको भूमि भएको विषय संसारलाई बुझाउन लागिरहेको बताए । कार्यक्रममा नाटाका वरिष्ठ उपाध्यक्ष जेसवन तुलाधर श्रेष्ठले सहभागीलाई धन्यवाद ज्ञापन गरिन् ।
त्यसैगरी बीआईटीएमको उद्घाटन समारोहमा नाटाका पूर्वअध्यक्षहरू सीएन पाण्डे, अच्युत गुरागाईं, रमेश थापालाई मन्त्री पाण्डेले सम्मान गरेका छन् । सोही अवसरमा नाटा र भारतको इन्डियन एसोसिएसन फर टुर अपरेटर्सबीच पर्यटन प्रवर्द्धन गर्ने समझदारीपत्रमा हस्ताक्षरसमेत भएको छ ।
कार्यक्रममा बीआईटीएम विशेष स्मारिका विमोचन गरिएको छ । तीन दिन चल्ने मार्टमा भारत, चीन, बंगलादेश, श्रीलंका, थाइल्यान्ड, म्यानमार, भुटानलगायत मुलुकबाट आएका सयभन्दा बढी पर्यटन व्यवसायीको सहभागिता छ ।
यो पनि...
‘नेपाललाई बौद्ध, आध्यात्म र शान्ति पर्यटनको विश्व केन्द्रका रूपमा स्थापित गर्छौं’
पर्यटन प्रवर्धनका लागि पूर्वाधारको विकास र कनेक्टिभिटी बढाऔं : अध्यक्ष ढकाल