
चलचित्र ‘ऊनको स्विटर’ देशव्यापी रूपमा १२० भन्दा बढी शोसहित प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ ।
निर्माता संस्था आर्टमान्डू नेपाल प्रालिका अनुसार, चलचित्रले दुई साताको अवधिमा घरेलु बक्स अफिसबाट ८ करोड १० लाख रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको छ । हालसम्म ओभरसिज कलेक्सन सार्वजनिक नभए पनि नेपालबाहिर पनि चलचित्रले राम्रो व्यापार गरिरहेको बताइएको छ ।
नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रले रिलिजको पहिलो दिनदेखि नै दर्शकको मन जित्दै देशभरका हलहरूमा हाउसफुल शो दिँदै आएको छ । प्रदर्शनको तेस्रो सातामा प्रवेश गरिसक्दा पनि फिल्मले १२० भन्दा बढी शो पाइरहेको छ, जुन नयाँ चलचित्रहरू रिलिज भएका परिस्थितिमा पनि उल्लेखनीय मानिएको छ ।
चलचित्रमा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बू, एलेक्स पारस, विल्सनविक्रम राई, सुरज तमू, भावना खपाङी मगर र सुनील पोखरेलको अभिनय छ । दर्शकले दमदार अभिनय, जीवन्त संवाद र प्रभावशाली निर्देशनलाई चलचित्रको बलियो पक्षको रूपमा उल्लेख गरेका छन् । दर्शकको स्वतन्त्र समीक्षाबाट समेत चलचित्रको सकारात्मक चर्चा बटुलिरहेको छ ।