
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस पार्टीभित्र सच्चा त्याग र समर्पण गर्ने नेताहरू निकै कम रहेको बताएका छन्।
नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति स्व. खगेन्द्रराज रेग्मीको शनिबार प्रथम स्मृति सभामा देउवाले स्व. रेग्मी अत्यन्तै इमानदार, लोभ–लालच नभएका र पार्टीप्रति समर्पित नेता भएको उल्लेख गरे।
‘उहाँजस्तो त्यागी, समर्पित र निस्वार्थ कांग्रेस नेता आजभोलि दुर्लभ छन्। पार्टीभित्र सच्चा मानेमा कांग्रेसको हृदयबाटै पार्टी निर्माणमा लाग्ने व्यक्तिहरू अब नगण्य मात्र छन्,’ देउवाले भने।
उनले स्व. रेग्मीले जीवनभर पार्टी र जनताको सेवामा काम गरेको र कहिल्यै व्यक्तिगत स्वार्थ नदेखाएको स्मरण गरे। यस्ता नेताहरूको योगदान भावी पुस्ताले बुझ्न सकून् भनेर उहाँको जीवनी र योगदानबारे लेख रचना प्रकाशन गर्न आवश्यक रहेको देउवाले बताए।
सभामा कांग्रेसका अन्य नेताहरूले पनि स्व. रेग्मीको योगदानको चर्चा गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।