कपिलवस्तु, जेठ १२ :

कपिलवस्तुमा ग्यास लिक भएर आगलागी हुँदा दाजु बहिनीको मृत्यु भएको छ। शुद्धोधन गाउँपालिका–५, जयनगर हतिया दोवानी बस्तीमा आइतबार राति खाना पकाउने क्रममा ग्यास लिक भएर आगलागी हुँदा २४ वर्षीय शिवकुमार यादव र उनकी १८ वर्षीया बहिनी सोनाम यादवको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार चुलोको रेगुलेटरबाट ग्यास लिक भई एक्कासी आगलागी भएको थियो। आगोमा परेर गम्भीर घाइते भएका दुवैजनालाई राति नै उपचारका लागि भैरहवाको युनिभर्सल मेडिकल कलेज लगिएको थियो।

उपचारकै क्रममा सोनामको मृत्यु भएको हो। त्यहाँ उपचार सम्भव नभएपछि शिवकुमारलाई थप उपचारका लागि भारतको गोरखपुर लैजाँदै गर्दा बाटोमै उनको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुवैको शव पोस्टमार्टमका लागि भीम अस्पताल, भैरहवामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।