काठमाडौं, जेठ १३ :

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हिमालको संरक्षण हामी सबैको साझा कर्तव्य रहेको धारणा राखेका छन् ।

एभरेस्ट समिटियर सम्मेलनका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले हिमाल आरोहणमा सफलता हासिल गर्ने सम्पूर्ण समिटियरप्रति बधाई दिँदै हिमाली संस्कृतिको संरक्षण र भविष्यका पुस्ताका लागि हिमाल सुरक्षित राख्नुपर्ने आवश्यकता औंल्याए ।

‘हामी केवल संसारको शिखर चुम्नेहरूलाई बधाई दिन यहाँ आएका होइनौँ,’ उनले भने, ‘उहाँहरूको साहस, समर्पण र दृढताप्रति सम्मान प्रकट गर्न पनि यहाँ छौं ।’ उनले शेर्पा समुदाय, गाइड, उद्धार टोली र हिमाली क्षेत्रमा निरन्तर खटिएर सेवा पुर्‍याउने सबैप्रति विशेष सम्मान व्यक्त गरे । ‘उहाँहरूको समर्पणले पर्वतीय यात्राहरूलाई सुरक्षित, प्रकृतिप्रति संवेदनशील र अझ अर्थपूर्ण बनाएको छ,’ उनले थपे ।

सरकार पर्वतारोहणको प्रवर्द्धनका लागि पूर्वाधार, तालिम र वातावरणीय सुरक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको मन्त्री पाण्डेले बताए । साथै पर्वतीय पर्यटनसँगै स्थानीय समुदायको समृद्धि र जीवनस्तरमा सुधार ल्याउन प्रतिबद्ध रहेको पनि उनले जनाए ।

मन्त्री पाण्डेले हिमालयलाई केवल भौगोलिक पर्वत नभई सभ्यता, संस्कृति र सहजीवनको सेतुका रूपमा चित्रित गर्दै भने, ‘यी हिमालहरू पवित्र छन् र तिनीहरूलाई सुरक्षित राख्नु हाम्रो साझा जिम्मेवारी हो ।’

जलवायु परिवर्तन र ग्लोबल वार्मिङका कारण हिमाली भविष्य संकटमा परेको उनको भनाइ छ । ‘अब समय आएको छ, हामीले सावधानी, बुद्धिमत्ता र सम्मानपूर्वक यी हिमालहरूको संरक्षण गर्न आवश्यक छ,’ उले भने । मन्त्री पाण्डेले सम्पूर्ण मानव समाजलाई हिमालप्रतिको प्रतिबद्धता नवीकरण गर्न प्रेरणा दिने विश्वास पनि व्यक्त गरे । सम्मेलनका क्रममा स्वदेशीदेखि विदेशी पर्वतारोहीलाई सम्मान पनि गरिएको थियो ।