काठमाण्डौं, भदौ १९ :

नेपाली कांग्रेसका सांसद डा चन्द्रकान्त भण्डारीले अर्थशास्त्रको नियम नबुझ्दा विकास निर्माणका काम ठप्प भएको बताउनुभएको छ । 

मंगलबार बसेको प्रतिनिधिसभाको  बैठकको विशेष समयमा उहाँले विकास जनताको सहजता र समृद्धिका साथै दिगो तथा अर्थशास्त्रको नियमानुसार हुनुपर्नेमा जोड दिनुभयो । विकास निर्माणका लागि इच्छाशक्ति र विज्ञता चाहिन्छ तर नेपालमा त्यस्तो हुनसकेको छैन उहाँले भन्नुभयो, यसबाट नेपाली राजनीति सच्चिन जरुरी छ ।

उहाले अब सरकार बनाउनेमा होइन, देश विकासमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

सांसद भण्डारीले समयमा सडक नबन्दा नागरिकले सस्ती भोगिरहनुपरेको तर्फ ध्यानाकर्षण गराउनुहुँदै जनताले भोग्ने हरेक समस्यामा सरोकार भएकाहरू ध्यान जान जरुरी रहेकामा जोड दिनुभयो । उहाँले जनताको कर तथा पैसा उठाएर चल्न हरेक निकाय जवाफदेही हुनुपर्ने बताउनुभयो । एनसेलले जनताबाट पैसा उठाएको छ, त्यो पैसा सरकारले लिनुपर्दैन ? 
सांसद भण्डारीले प्रश्न गर्नुभयो, बत्ती बालेपछि बिल तिर्नुपर्दैन ? यस विषयमा सभामुखले रुलिङ गर्न जरुरी छ । 

उहाँले दैनिकजसो विदेशीने नेपालीहरूलाई रोक्नका लागि सरकारले प्राथमिकताका साथ काम गर्न आवश्यक रहेको धारणा राख्नुभयो । सांसद भण्डारीले भन्नुभयो, सरकार बन्ने र बनाउने विषयमा होइन, मुलुक बनाउने बाटोमा लाग्नुपर्छ, सरकारले भाषण होइन, काम गरेर देखाउनुपर्छ ।