
चलचित्र ‘महाभोज’ को जेठ १५ गतेका लागि तय गरिएको प्रदर्शन स्थगित गरिएको छ । देशभर फैलिएका विभिन्न आन्दोलन तथा विषम् परिस्थितिका कारण उत्पन्न असहज अवस्थालाई दृष्टिगत गर्दै निर्माता हिमाल कडरियाले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रदर्शन हाललाई स्थगित गरिएको जानकारी गराएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समय देशभर फैलिएका विभिन्न आन्दोलन तथा विस्तारित विषम् परिस्थितिका कारण आमजनजीवन प्रभावित भइरहेको अवस्थालाई दृष्टिगत गर्दै, चलचित्र महाभोजको प्रदर्शन नेपाल तथा नेपालबाहिरका सबै देशमा हाललाई स्थगित गरिएको जानकारी गराउँदछौँ ।’
चलचित्रप्रति दर्शकले देखाएको उत्साह र समर्थनप्रति आभार प्रकट गर्दै निर्माताले मुलुकको संवेदनशील परिस्थितिमा दर्शकको सुरक्षालाई पहिलो प्राथमिकतामा राखिएको उल्लेख गरेका छन् । उनले अवस्था सामान्य भएपछिको पहिलो सम्भव समयमा नयाँ प्रदर्शन मिति सार्वजनिक गरिने जानकारी पनि दिएका छन् ।
‘महाभोज’ लामो समयदेखि प्रचारमा रहेको र सहकारीको रकम अपचलनको कथावस्तुमा निर्माण गरिएको नेपाली चलचित्र हो । प्रदर्शन मिति स्थगित भएसँगै दर्शकहरूमा केही समय प्रतीक्षा गर्नुपर्ने भएको छ ।
चलचित्र युनिटले दर्शक, वितरक, सञ्चारकर्मी र शुभेच्छुकप्रति निरन्तर साथ, समर्थन र समझदारीका लागि अपेक्षा राखेको छ ।