काठमाडौं, जेठ १४ :

भोलि (बिहीबार) देखि देशव्यापी प्रदर्शनमा आउने नेपाली चलचित्र ‘महाभोज’ को विशेष प्रिभ्यु प्रदर्शन गरिएको छ ।

चलचित्र रिलिजको अघिल्लो दिन आयोजित यो विशेष शोमा पत्रकार, चलचित्र युनिट र देशभरका सहकारीपीडितहरूबाट चयन गरिएका ६० प्रतिनिधिको सहभागिता थियो ।

प्रदर्शन अवधिभर हलमा भावनात्मक माहोल देखिएको थियो । सहकारीपीडितहरूले चलचित्रले उनीहरूकै जीवनको यथार्थ प्रतिबिम्ब झल्काएको अनुभव सुनाउँदै यसको विषयवस्तुले आफूहरूलाई न्यायका लागि अझ सशक्त र प्रेरित बनाएको बताए ।

चलचित्र प्रदर्शनपछि उनीहरूले सञ्चारकर्मीहरूसामु नाराबाजीसहित उत्साह व्यक्त गर्दै भने, ‘राज्यले नसुनेको पीडितको आवाज महाभोजले पर्दाबाट बोलेको छ ।’

यस्तै उनीहरूले निर्देशक दिनेश राउत, निर्माता हिमाल कडरिया, लेखक विकास सुवेदी तथा सम्पूर्ण कलाकारप्रति आभार व्यक्त गर्दै चलचित्रलाई देश-विदेशमा बस्ने सम्पूर्ण नेपालीले हेरेर सफल बनाउनुपर्ने धारणा राखे । उनीहरूको भनाइमा ‘महाभोज’ मनोरञ्जनको माध्यम मात्र नभएर आन्दोलनको स्वर समेत बनेको छ । जसले राज्य संयन्त्रमाथि नै गहिरो प्रश्न उठाएको छ ।

प्रदर्शनपछि पत्रकारहरूबाट पनि चलचित्रको विषयवस्तु र प्रस्तुतिलाई लिएर सकारात्मक प्रतिक्रिया आएको छ । सामाजिक यथार्थलाई कलात्मक ढंगमा चित्रण गर्न सकिएको भन्दै चलचित्रको प्रशंसा गरिएको छ ।

पत्रकारहरूले यसका निर्देशक राउतको निर्देशकीय क्षमताको व्यापक प्रशंसा गरेका छन् । ‘महाभोज’ केवल चलचित्र मात्र नभई, यो एक सशक्त सामाजिक दस्ताबेज पनि रहेको उनीहरूले प्रतिक्रिया दिए ।

यसैबीच देशभरका प्रमुख मल्टिप्लेक्स तथा सिङ्गल स्क्रिन हलहरूले ‘महाभोज’ को अग्रिम बुकिङ खुला गरिसकेका छन् । वितरकहरूका अनुसार यो चलचित्र करिब २ सय शोसहित नेपालभर प्रदर्शन हुँदै छ ।

दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, बसुन्धरा भुसाल र मोहन निरौलाको प्रमुख अभिनय छ । ‘महाभोज’ सहकारी संस्थासम्बन्धी एउटा गम्भीर सामाजिक विषयमा आधारित छ । चलचित्रले सहकारी संस्थामा बचत गरेको रकम डुबेपछि उत्पन्न हुने अवस्थालाई मर्मस्पर्शी ढंगले चित्रण गरेको छ ।

पीडितहरूको वेदना, जागिरेहरूको मानसिक संघर्ष र राजनीतिक चलखेल चलचित्रको मूल कथा बन्छ । चलचित्रले हास्यपरक रूपमा चलचित्रका पात्रहरूलाई पनि प्रयोग गरी मनोरञ्जकसमेत बनाइएको छ ।

क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति रहेको यो चलचित्रले नेपालसँगै विदेशका केही मुलुकहरूमा समेत एकसाथ प्रदर्शनको तयारी गरेको छ ।