बाँके, भदौ २० :

बाँके र बर्दियाका वन तथा वन्यजन्तु संरक्षणकर्मी र जनप्रतिनिधिले राजमार्गका संरचना वन्यजन्तु मैत्री हुनुपर्नेमा जोड दिएका छन्। 

वन्यजन्तु, वातावरण र जलवायु अनुकुलतालाई आत्मसाथ नगरी गरिएको पूर्वाधार विकास दिगो नहुने भएकोले पूर्व- पश्चिम राजमार्ग, हुलाकी सडक लगायतका संरचना निर्माण गर्दा सबै पक्षलाई ध्यान दिनुपर्ने उहाँहरूको माग छ । 

बाँकेको कोहलपुरमा मङ्गलवार आयोजित पूर्वाधार विकासमा प्राकृतिक स्रोत संरक्षण मूलप्रवाहिकरण सम्बन्धी कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले वन्यजन्तुको संरक्षण गर्नु मानवको कर्तव्य भएकाले वन्यजन्तु मैत्री पूर्वाधार प्रवर्द्धनमा जोड दिनुभयो । 

आफू जुन क्षेत्रमा काम गर्छौँ त्यही क्षेत्रलाई मात्रै मध्यनजर गर्दा अहिले समस्या देखिएको उल्लेख गर्दै मन्त्री कुर्मीले सबैको अस्तित्व स्वीकारेर आगामी दिनमा विकास र वातावरण संरक्षणका योजना अगाडि बढाएरमात्र दिगो विकास सम्भव हुने उल्लेख गर्नुभयो ।

डिभिजन वन कार्यालय बर्दियाका प्रमुख विजयराज सुवेदीले वनक्षेत्रमा अहिले विकासका नाममा निर्माण भएका सडकले वन्यजन्तु समस्यामा परेको बताउनुभयो । एउटै गाउँ पुग्न पाँचवटा बाटो बनाउने अहिलेको कार्यशैलीले मानव- वन्यजन्तु द्वन्द्व बढ्दै गएको दाबी गर्नुभयो । 

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख मनोज साहले दिगो विकासका लागि नेपालमा वन्यजन्तु मैत्री पूर्वाधार प्रवर्द्धनमा जोड दिनुभयो । उहाँले जथाभावी सडक संरचना निर्माण गर्दा वन्यजन्तु निर्वाध रुपमा आवतजावत गर्न नपाउने भएकाले मानव- वन्यजन्तु द्वन्द्व बढ्दै गएको स्मरण गराउनुभयो ।

उहाँले राजमार्गमा सडकको मुनीबाट र सडक माथिबाट वन्यजन्तु निर्वाध रुपमा आवतजावत गर्न सक्ने संरचना निर्माण गर्न जरुरी भएकोमा जोड दिनुभयो । 

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख डा अशोककुमार रामले निकुञ्ज मात्रै नभएर वनक्षेत्रमा बन्ने संरचनामा पनि वन्यजन्तु सहज रुपमा आवत जावत गर्ने व्यवस्था हुनुपर्ने बताउनुभयो ।

जथाभावी रुपमा पूर्वाधार निर्माणले सामाजिक, आर्थिक र वातावरणमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले सबै पक्षलाई ध्यान दिएर मात्रै संरचना बनाउन सके मात्रै दिगो विकास हुने उहाँको भनाई छ ।

साङ्केतिक तस्बिर