काठमाडौं, जेठ १५ :

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली कच्चा पदार्थबाट निर्माण गरिएको झोलामा बजेट पुस्तिका राखेका छन् ।

यसअघि गत वर्ष पनि नेपाली कच्चा पदार्थबाट निर्माण गरिएको झोलामा बजेट पुस्तिका राखिएको थियो । पूर्वअर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्ष ०८१/८२ को बजेट पुस्तिका गाँजाबाट निर्मित नेपाली झोलामा राखेका थिए ।

नेपाली उत्पादन प्रवर्धन गर्ने उद्देश्यले त्यसो गरिएको उनले तत्कालीन अर्थमन्त्री पुनले बताएका थिए । यसअघि विदेशी छालाबाट निर्मित ‘महँगो ब्रिफकेस’ मा बजेट पुस्तिका राख्ने गरिन्थ्यो । झट्टा हेर्दा अघिल्लो वर्षकै जस्तो देखिए पनि नयाँ झोला भएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्री पौडेलका प्रेस सल्लाहकार भुवन केसीले नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने नीतिअनुसारै स्थानीय उत्पादनबाट बनेको झोलामा बजेट पुस्तिका राखिएको बताए । ‘हेर्दा अघिल्लो वर्षको जस्तै देखिए पनि बजारबाट नयाँ किनेर ल्याएको हो । त्यतिबेला र अहिलेकोमा केही फरक छ । तर झोला नेपाली हो । नेपाली उत्पादन प्रवर्धन गर्ने प्रचलन जसले गरेको भए पनि निरन्तरता दिनुपर्छ भन्ने हो,’ केसीले भने ।