काठमाडौँ, भदौ २० :

नेपाल राष्ट्र बैङ्कले यस पटक दशैँमा नयाँ नोट नछाप्ने भएको छ ।

दसैँतिहार लक्षित नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएको राष्ट्र बैङ्कले खर्चको व्यवस्थापन गर्न भन्दै यस पटक नयाँ नोट नछाप्ने भएको हो ।

राष्ट्र बैङ्कले यो दशैँमा नयाँ नोटको सट्टा सुकिला नोट दिने अभ्यासलाई अघि बढाउने भएको छ । 

राष्ट्र बैङ्कका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले पुराना सुकिला नोट सटही गरिदिने तर नयाँ नोट नदिने जानकारी दिनुभयो ।

यस पटक दसैँमा नयाँ नोट वितरण नहुने भन्दै पोखरेलले आवश्यक हुनेलाई बजारबाट फिर्ता आएका मध्येबाट सुकिला नोट दिने बताउनुभयो ।

डिजिटल कारोबारलाई प्रोत्साहन गर्न र नोट छपाइ खर्च कम गर्न यस्तो निर्णय गरेको राष्ट्र बैङ्कले जनाएको छ ।

दसैँमा साना तथा ठूला दरका नोट आवश्यक हुनेलाई एक वर्षअघि बजारमा पठाएर फिर्ता आएका सुकिला नोट बैङ्कमार्फत सटही व्यवस्था मिलाइने प्रवक्ता पोखरेलले बताउनुभयो ।

यस पटक पनि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँ (५, १० २०, ५० र १०० ) का लागि नोट सटही गरिने राष्ट्र बैङ्कले जनाएको छ ।