काठमाडौं, जेठ १६ :

नेपाल विश्वविद्यालय र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) बीच शैक्षिक प्रणालीलाई उद्योग-व्यवसायसँग जोड्दै अनुसन्धान, सीप विकास र रोजगारी सिर्जनाका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको छ ।

महासंघ सचिवालयमा भएको भेटवार्तामा दुवै पक्षले विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान र दक्षता प्रदान गर्दै रोजगार योग्य जनशक्ति उत्पादन गर्न मिल्ने संरचना विकास गर्नुपर्नेमा सहमति जनाए । साथै उद्योगको आवश्यकताअनुसार पाठ्यक्रम परिमार्जन, तालिम कार्यक्रम सञ्चालन र संयुक्त परियोजनाहरू अघि बढाउने सम्भावनाबारे पनि विस्तृत कुराकानी भएको छ ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकार्यलाई निजी क्षेत्र र शैक्षिक संस्थाबीचको दूरी घटाउने अवसरको रूपमा हेर्ने बताए । उनले भने, ‘यस्तो सहकार्यबाट उद्योगलाई आवश्यक दक्ष जनशक्ति उत्पादन हुनेछ र युवाहरूका लागि रोजगारीका अवसरहरू पनि बढ्नेछन् । महासंघ यसमा सकारात्मक छ ।’

नेपाल विश्वविद्यालयका कुलपति डा. विन्दुनाथ लोहनीले सहकार्यले नेपाली शैक्षिक प्रणालीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न मद्दत पुग्ने बताए । उनले भने, ‘हामी विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सीप र उद्यमशील सोच दिन चाहन्छौं । महासंघसँगको सहकार्यले यसमा ठूलो योगदान पुर्याउनेछ ।’

उपकुलपति डा. अर्जुन कार्कीले सीपयुक्त, दक्ष र गुणस्तरीय जनशक्ति उत्पादन विश्वविद्यालयको प्रमुख उद्देश्य भएको उल्लेख गर्दै त्यसका लागि उद्योग वाणिज्य महासंघसँग सहकार्य अपरिहार्य भएको धारणा राखे ।

दुवै पक्षले संयुक्त अनुसन्धान, नवप्रवर्तन, उद्यमशीलता प्रवर्द्धन, इन्टर्नसिप कार्यक्रम र रोजगारी सिर्जनाका क्षेत्रमा सहकार्य गर्न सकिनेमा सहमति व्यक्त गरेका छन् । सहकार्यले शिक्षा र उद्योगबीचको सम्बन्धलाई अझ सशक्त बनाउने आशा गरिएको छ ।