
राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको माग गर्दै जारी आन्दोलनको तेस्रो दिन शनिबार प्रहरीले कम्तिमा दुई जनालाई पक्राउ गरेको छ।
आन्दोलनकारीहरू दरबारमार्गतर्फ जाँदै गर्दा प्रहरीले हस्तक्षेप गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो। शुक्रबार राति काठमाडौँ प्रशासनले दरबारमार्ग क्षेत्र निषेधित क्षेत्र घोषणा गरेको थियो।
त्यसविरुद्ध शान्तिबाटिकाबाट त्रिचन्द्रतर्फ प्रस्थान गरेका प्रदर्शनकारीहरूमाथि प्रहरीले हातपात गर्दै हस्तक्षेप गरेको प्रत्यक्षदर्शीहरू बताउँछन्।
राप्रपा केन्द्रीय सदस्य प्रदीप उदयले हामी निषेधाज्ञा उल्लंघन गर्दैनौँ भनेर आग्रह गर्दा पनि प्रहरीले बेवास्ता गरेको र केही युवालाई पक्राउ गरेको उनीहरूको आरोप छ।
पहिलो र दोस्रो दिनको आन्दोलन शान्तिपूर्ण भए पनि तेस्रो दिन निषेधित क्षेत्र तोकिएपछि तनाव सिर्जना भएको हो। प्रशासनले आन्दोलनकारीहरू प्रदर्शन गर्ने स्थान नारायणहिटीबाट नजिक भएकाले सुरक्षाको दृष्टिले निषेधित क्षेत्र तोकेको छ।
