
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत। फाइल फोटो ।
काठमाडाैं, जेठ १७ :
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले इमान, निष्ठा र क्षमताका आधारमा काम गरिएमा न्यायपालिका कहिल्यै बदनाम नहुने बताएका छन्।
शनिबार न्यायपालिका अधिकृत समाजको पाँचौं वार्षिक साधारणसभाको उद्घाटन सत्रमा बोल्दै उनले न्यायपालिकामाथि उठेका प्रश्नको समाधानका लागि आफू सधैं प्रयासरत रहेको बताए।
‘न्यायपालिकामा सधैं मेरो भूमिका रहँदैन, तर जिम्मेवारीमा हुँदा केही गर्न सकिन भने त्यसको अर्थ हुँदैन,’ उनले भने, ‘इमान, निष्ठा र क्षमताको समिश्रणले काम गर्यौं भने न्यायपालिका बदनाम हुँदैन।’
उनले मर्यादित र प्रतिष्ठित न्यायपालिका निर्माणमा कर्मचारीको भूमिका निर्णायक हुने उल्लेख गर्दै, कर्मचारीकै सहयोग र बलमा न्यायिक सुधार सम्भव हुने विश्वास व्यक्त गरे।