धरान, जेठ १७ :

अविरल वर्षाका कारण लेउती खोलामा आएको बाढीले धरान-धनकुटा सडकखण्डको एक भाग बगाएपछि अवरुद्ध भएको कोशी राजमार्ग १६ घण्टापछि आज साँझ एकतर्फी सञ्चालनमा आएको छ।

साँगुरीगढी गाउँपालिका–६ स्थित फेदी मूलघाटमा आज बिहान करिब ३ बजे खोलाले सडक बगाएपछि राजमार्ग अवरुद्ध भएको थियो। कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता भीमबहादुर दाहालका अनुसार अस्थायी डाइभर्सन निर्माण गरी साँझ करिब ७ बजेदेखि एकतर्फी सवारी सञ्चालन गरिएको हो।

सडक अवरुद्ध हुँदा धरान र धनकुटातर्फ गइरहेका सवारीसाधन बाटोमै अलपत्र परेका थिए। यात्रुहरूलाई नेपाल प्रहरी र नेपाली सेनाको सहयोगमा वैकल्पिक मार्ग प्रयोग गरी गन्तव्यतर्फ पठाइएको थियो।

यातायात ठप्प हुँदा कोशी राजमार्ग र तमोर करिडोर भएर पूर्वी तराईबाट भेडेटार, धनकुटा, भोजपुर, सङ्खुवासभा, ताप्लेजुङ र पाँचथर जाने सवारी आवागमन पूर्ण रूपमा रोकिएको थियो।