नयाँ दिल्ली, जेठ १८ :

छिमेकी भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिन थालेको छ । पछिल्ला दुई दिनमा मात्रै संक्रमणका कारण २१ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

शनिबार बेंगलुरुमा ६३ वर्षीय पुरुष र दिल्लीमा ६० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । भारतमा अहिले सक्रिय संक्रमितको संख्या ३ हजार ७८३ पुगेको छ । सबैभन्दा धेरै संक्रमित केरलामा १ हजार ४ सय जना छन् । त्यसपछि महाराष्ट्रमा ४८५ र दिल्लीमा ४३६ संक्रमित रहेका छन् ।

पछिल्लो ४८ घण्टामा मात्रै हजारभन्दा बढी नयाँ संक्रमित थपिएको जनाइएको छ । भारतको स्वास्थ्य विभागका अनुसार जनवरीदेखि हालसम्म कोरोनाका कारण २८ जनाको मृत्यु भइसकेको छ । तीमध्ये २१ जनाको मृत्यु पछिल्ला दुई दिनमा भएको हो ।

कर्नाटक सरकारले सूचना जारी गर्दै भीडभाड भएका ठाउँमा मास्क लगाउन, सामाजिक दूरी कायम राख्न र सरसफाइमा ध्यान दिन आग्रह गरेको छ । ‘ज्वरो, खोकी, छाती दुख्ने वा सास फेर्न गाह्रो भएमा तुरुन्त परीक्षण गर्नुपर्छ’ विज्ञप्तिमा भनिएको छ । भारतमा संक्रमण तीव्र रुपमा फैलिन थालेसँगै खुला सीमा भएकाले नेपालमा पनि संक्रमणको जोखिम बढेको छ ।