
वरिष्ठ संगीतकार तथा गायक गणेश रसिकको ७८ वर्षको उमेरमा निधन भएको छ। हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारको क्रममा आज निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
रसिक पाँच वर्षदेखि प्रोस्टेट क्यान्सर पीडित थिए। उनका भाइसमेत रहेका संगीतकार वसन्त मुकारुङका अनुसार क्यान्सर अस्पतालमै रसिकको बिहान ११ बजेतिर निधन भएको हो ।
संगीतकार संघका अध्यक्ष अष्ट लामाले पनि रसिकको निधन पुष्टि गरेका छन्। रसिकको शव त्रिभुवन शिक्षण अस्पतालमा राखिएको छ। बेलायतमा रहेकी उनकी छोरी फर्किएपछि अन्त्येष्टि गरिने जनाइएको छ।
करिब पाँच दशकअघि ‘लेकाली’ समूहमार्फत सांगीतिक यात्रा सुरु गरेका रसिक नेपाली गीतसंगीतको बहुआयमिक व्यक्तित्व मानिन्छन्। उनका गीतहरूमा नेपाली समाजको दुःख, संघर्ष, सपना र जीवनदर्शन पाइन्छ।
संगीतसँगै रसिकले साहित्यमा समेत योगदान दिएका छन्। कथा, कविता, उपन्यास, संस्मरण र निबन्धका दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन्।
२००४ साल असोज ४ गते भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२, नौलागाउँमा जन्मिएका रसिकले बीएसम्मको औपचारिक शिक्षा हासिल गरेका थिए। सामान्य कर्मचारीबाट जीवन सुरु गरेका उनले विभिन्न संस्थामा ३१ वर्षसम्म सेवा गरे।
रत्न रेकर्डिङ संस्थान, सांस्कृतिक संस्थान, साझा प्रकाशन र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानजस्ता निकायमा उनले प्रमुख पद सम्हालेका थिए।