काठमाडौं, जेठ १९ :

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजावादी शक्तिहरू योजनाबद्ध र संगठित ढंगले अगाडि बढिरहेका भन्दै त्यसप्रति गम्भीर हुनुपर्ने बताएका छन्।

सोमबार बिहान बुढानीलकण्ठस्थित आफ्नै निवासमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा उनले हालै राजावादीहरूद्वारा गरिएको प्रदर्शन र गतिविधिलाई गम्भीर रूपमा व्याख्या गरेका हुन्।

सभापति देउवाले राजावादी शक्ति फेरि संगठित हुन खोजेको भन्दै पार्टीभित्र रणनीतिक तयारी गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। यस विषयमा अब पार्टी नेतृत्व मात्र होइन गठनका तल्ला तहसम्म गम्भीर भएर प्रस्तुत हुनुपर्ने उनले बैठकमा धारणा राखेका थिए। राजावादीहरूका पछिल्ला गतिविधि र त्यसप्रति दलले लिनुपर्ने रणनीतिका विषयमा बैठकमा विशेष चर्चा भएको जनाइएको छ।

बैठकले संविधान र गणतन्त्रको पक्षमा काठमाडौंमा आमसभा गर्ने निर्णयसमेत गरेको छ। सत्ता साझेदार एमालेले एकातिर गणतन्त्रको पक्षमा सार्वजनिक कार्यक्रम गर्दै गर्दा कांग्रेसले पनि त्यसलाई थप सशक्त बनाउँदै संविधान र लोकतान्त्रिक मूल्यको पक्षमा आवाज उठाउने रणनीति बनाएको छ।

संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार सभा कहिले र कहाँ गर्ने भन्ने टुंगो आगामी बैठकले गर्नेछ। बैठकमा पार्टीको क्रियाशील सदस्यता, भ्रातृ संस्था र भातृ संगठनहरूको अधिवेशनको तयारी लगायतका विषयमा पनि छलफल भएको नेताहरूले बताएका छन्।