काभ्रे, भदौ २१ :

अरनिको राजमार्ग अन्तर्गत काभ्रेको धुलिखेल- खावा सडकखण्डमा दुई दिन टिपर लगायत मालवाहक सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ ।

सडक मर्मतलाई निरन्तरता दिन सडक डिभिजन कार्यालय भक्तपुरले आज र भोलि टिपर र मालवाहक गाडी सञ्चालनमा रोक लगाएको हो ।

निर्माण व्यवसायीको लापर्बाहीका कारण बर्खाको समयमा सडक जीर्ण भएर काठमाडौँबाट काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र चीन जोड्ने तातोपानी नाका आवतजावत गर्ने प्रमुख सडक जोखिमपूर्ण अवस्थामा रहेकाले निर्माण विस्तार गर्न दुई दिन मालवाहक गाडी सञ्चालनमा रहेका लगाएको कार्यालयले जनाएको छ । 

निर्माणाधीन धुलिखेल- खावा सडक खण्ड अत्यन्तै जीर्ण भएकाले सडक निर्माणमा सहयोग गर्न सबैसँग कार्यालयले अनुरोध गरेको छ । निर्माण सामग्रीको ढुवानी गर्ने टिपरका साथै चीनको खासा हुँदै नेपाल भित्रिने वस्तुको ढुवानी गर्ने कन्टेनर उक्त सडकमा सञ्चालन हुँदै आएका छन् । 
    
सडक मर्मतका लागि दुई दिन पूर्ण रुपमा मालबाहक यातायातका साधन बन्द गर्न कार्यालयले बुधबार सार्वजनिक सूचना मार्फत अनुरोध गरेका थियो । 

सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख मेघराज मरासिनीले आजदेखि निर्माणको कामलाई निरन्तरता दिने मौखिक सहमतिपछि बिहीबार र शुक्रबार निर्माणलाई निरन्तरता दिन मालवाहक यातायातका साधनलाई पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो। 

यसैबीच बनेपाको चार दोबाटो- रविओपी हुँदै पाँचखाल र बीपी राजमार्ग- तीनपिप्ले–पाँचखाल पुग्ने वैकल्पिक बाटो रहेकाले साना सवारीसाधनलाई सोही बाटो प्रयोग गर्न अनुरोध गरिएको छ । 

नेपालको उत्तरी नाका अर्थात् पूर्वी- उत्तरी क्षेत्र तातोपानी पुग्न अरनिको राजमार्ग हुँदै जाने गरिन्छ । यस्तै सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायत विभिन्न ठाउँबाट आवतजावतका लागि यही राजमार्गको प्रयोग हुने गरेको हुन्छ ।