काठमाडौँ, भदौ २१ :

सन् २०२४ को आठ महिनामा सात लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । 

जनवरीदेखि अगस्ट महिनासम्म सात लाख २० हजार तीन सय ३४ पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डको तथ्याङ्कमा उल्लेख छ ।

अगस्टमा विदेशी पर्यटकको आगमन आठ दशमलव तीन प्रतिशतले बढेको छ । उक्त महिनामा मात्रै ७२ हजार सात सय १९ पर्यटक नेपाल आएका छन् । 

सन् २०२३ को अगस्टको तुलनामा यस वर्षको सोही अवधिमा पाँच हजार पाँच सय ६६ बढी पर्यटक नेपाल भित्रिएका हुन् । 

गत वर्ष कुल ६७ हजार एक सय ५३ जना पर्यटक आएकामा सन् २०२४ को अगष्टमा ७२ हजार सात सय १९ पर्यटक नेपाल भित्रिएका छन् । 

बोर्डका निर्देशक मणिराज लामिछानेले पछिल्ला दिनमा विदेशी पर्यटक आवागमनमा वृद्धि भइरहेको बताउनुभयो । 

उहाँले छिमेकी मुलुक भारत र चीन लक्षित पर्यटन प्रवर्द्धनात्मक कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइएकाले आगामी दिनमा छिमेकी सहित अन्य मुलुकबाट पनि ठुलो सङ्ख्यामा पर्यटक आउन सक्ने बताउनुभयो ।

बोर्डको तत्थ्याङ्क अनुसार अगस्टमा भारतबाट सबैभन्दा बढी २५ हजार आठ सय ३२, चीनबाट छ हजार छ सय १४, अमेरिकाबाट पाँच हजार छ सय १४, श्रीलङ्काबाट चार हजार आठ सय ५१ र बङ्गलादेशबाट तीन हजार ७७ पर्यटक नेपाल भित्रिएका छन् । 

सन् २०२२ को अगस्टमा ४१ हजार तीन सय चार, सन् २०२१ को सोही अवधिमा छ हजार ९३ र सन् २०१९ को अगस्टमा ९४ हजार सात सय ४९ जना विदेशी पर्यटक नेपाल आएका थिए ।

पर्यटन बोर्डबाट एक सय पर्यटकीय गन्तव्यको पहिचान गरी पर्यटन विभागले पूर्वाधार निर्माण समेत गरिरहेको छ ।