
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सार्वजनिक यातायात बन्द गर्नु यातायात व्यवसायीहरूको गल्ती भएको बताएका छन्।
सोमबार राति सरकार र व्यवसायीबीच सहमति भइसकेको अवस्थामा पनि मंगलबार बिहान सवारी साधन नचलेकोप्रति उनले असन्तोष जनाए। उनले सहमतिअनुसार सवारी सञ्चालन गर्नुपर्नेमा उल्टै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गण्डकी प्रदेशमा पत्र जानुपर्ने बहाना गर्नु गलत भएको बताए।
"सरकारले कुनै पनि प्रदेशको अधिकार हनन हुने गरी सम्झौता गरेको छैन,’ मन्त्री दाहालले भने, ‘सार्वजनिक यातायातसम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको छ र त्यसले यस्ता विषय समाधान गर्नेछ।’
उनका अनुसार संघीय सरकारले पहिले कानुन बनाएपछि मात्रै प्रदेशले त्यसको आधारमा कानुन बनाउनु सहज हुने भएकाले प्रक्रिया केही समयका लागि स्थगन गर्न अनुरोध गरिएको हो।
मन्त्री दाहालले पछिल्लो समय चर्चामा रहेको राइड शेयरिङ सेवालाई व्यवस्थित गर्ने तयारी पनि भइरहेको बताए। उनका अनुसार राइड शेयरिङमार्फत जनताले सुविधा लिइरहे पनि राज्यको नियमनमा ल्याउनुपर्ने आवश्यकता छ। ‘कानुन र नियमावली बनाएर यसलाई संघीय तहमै व्यवस्थित गर्न लागिरहेका छौं,’उनले भने।
नेपालमा सार्वजनिक यातायात पूर्णरूपमा निजी क्षेत्रले सञ्चालन गर्दै आएको उल्लेख गर्दै मन्त्री दाहालले व्यवसायीहरूले जिम्मेवारीपूर्वक व्यवहार गर्नुपर्नेमा जोड दिए। बन्दा गरेर जनतालाई सास्ती दिने काम गर्न नहुने मन्त्री दाहालको भनाइ छ।
सरकार र व्यवसायीबीच सोमबार राति सहमति भए पनि मंगलबार बिहान राजधानीसहित देशका विभिन्न ठाउँमा सवारी साधन नचलेपछि सर्वसाधारणलाई ठुलो समस्या भएको छ।