
चलचित्र ‘द ब्ल्यू लाइट’ को शुभमुहूर्त गरिएको छ । काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा मंगलबार निर्माणपक्षले शुभमुहूर्त गरेको हो ।
शुभमुहूर्तमा सिनेमाका मुख्य कलाकार र प्राविधिकको उपस्थिति थियो । शुभमुहूर्तसँगै चलचित्रको छायांकन २२ गते बिहीबारबाट सुरु हुनेछ ।
काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानमा खिचिने यस चलचित्रको छायाकंन तालिका २० दिन तय गरिएको छ ।
‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानको निर्देशन रहनेछ । चौहान अहिलेको प्रतिक्षित चलचित्र ‘बलिदान’को लेखक तथा मुख्य सहायक निर्देशक हुन् । उनको यो डेब्यु निर्देशन हो ।
चलचित्रको थिम पोस्टर यसअघि नै सार्वजनिक भइसकेको छ । थिम पोस्टरमा नीलो रङले घेरिएको वातावरणबीच एक बालिका उभिएकी छन् । पोस्टरमा बालिकाको कम्मरदेखि माथिसम्मको भाग देखाइएको छ । उनको जुङरुङ कपाल तथा विछिप्त मुद्राबाट चलचित्रको रहस्यमय तथा मनोवैज्ञानिक पृष्ठभूमि झल्किन्छ ।
‘द ब्ल्यू लाइट’को प्रमुख भूमिकामा अर्पण थापा, महेश त्रिपाठी, आयुषमान देशराज जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी छन् । यस्तै चलचित्रको बाल कलाकारमा ग्रिष्मा कटुवाल र सहारा शर्मा छन् ।
साइकोलोजिकल थ्रिलर जनरामा निर्माण हुने चलचित्रलाई स्काइफल पिक्चर्सको प्रस्तुत गर्न लागेको हो । ‘द ब्ल्यू लाइट’को को-प्रोडुसरका रुपमा रमन ग्रे रहनेछन् । चलचित्रको छायांकन नरेन्द्र मैनालीले गर्नेछन् ।
आकाश उखेडा मख्य सहायक निर्देशक रहेको चलचित्रमा रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक छन् ।
निर्देशक चौहानले चलचित्रको कथावस्तु गोप्य राखेका छन् । ‘विस्तारै हाम्रा प्रचार कन्टेनमार्फत कथावस्तुबारे हामी जानकारी दिँदै जानेछौँ,’ उनले भने, ‘हामी यो जानराकै एक उत्कृष्ट सिनेमा बनाउनेछौँ । दर्शकले रुचाउने चलचित्र बनाउनेछौँ ।’ ‘द ब्ल्यू लाइट’ सन् २०२५ भित्रै रिलिज हुने निर्देशक चौहानले बताए ।