.jpg)
यातायात व्यवसायीहरूको आन्दोलनका कारण सार्वजनिक सवारीसाधन नचलिरहेका बेला नेपाल प्रहरीले मंगलबार पनि निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।
सार्वजनिक यातायात बन्द हुँदा सर्वसाधारणलाई आवतजावतमा समस्या भएपछि प्रहरीले सोमबारदेखि निःशुल्क बस सञ्चालन सुरु गरेको हो । मंगलबार पनि प्रहरीले दुईवटा रूटमा सेवा सञ्चालन गरेको छ ।
पहिलो रूटअनुसार बस नक्साल, बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, जयनेपाल हल हुँदै पुनः नक्साल फर्किन्छ ।
त्यस्तै दोस्रो रूटमा नक्साल, रातोपुल, चाबहिल, गौशाला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायकसम्म पुगेर सोही रूटमार्फत चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै नक्साल फर्किने व्यवस्था गरिएको छ ।
सार्वजनिक यातायात बन्द भएपछि राजधानीका सडकमा देखिएको प्रहरीको निःशुल्क बसले सर्वसाधारणलाई राहत दिएको छ । कतिपय स्थानमा प्रहरीको बसमा चढ्दै गर्दा यात्रुहरूले स्यालुट गरेर आभार प्रकट गरेको दृश्य पनि देखिएको छ । प्रहरीले ‘सेवा नै धर्म हो’भन्ने भावनाका साथ अप्ठयारोमा परेका यात्रुहरुलाई सहयोग पुर्याइरहेको छ ।
र यो पनि…
सहमति हुँदा पनि किन चलेनन् गाडी ? आज पनि यात्रुलाई सास्ती
तस्बिरहरु : नेपाल प्रहरी