
चलचित्र ‘ऊनको स्विटर’ ले चौथो सातासम्म आइपुग्दा पनि नेपाली बक्स अफिसमा धमाका मच्चाइरहेको छ । प्रदर्शनको तेस्रो सातामै १० करोड रुपैयाँभन्दा बढी ग्रस कमाइ गरिसकेको यो चलचित्रले न केवल व्यावसायिक रेकर्ड तोडिरहेको छ, बरु दर्शकका मनमा पनि विशेष स्थान बनाएको छ ।
यसै खुसीको अवसरमा चलचित्र युनिटले मंगलबार साँझ काठमाडौंको चाबहिलस्थित एफक्युब सिनेमा हलमा चलचित्र हेरेका दर्शकमाझ केक काटेर सेलिब्रेसन गरेको छ । त्यस अवसरमा प्रमुख कलाकार विपिन कार्की, एलेक्स पारस, परीक्षा लिम्बू, शारदादेवी सिलवाल, भावना खपाङी मगर, गायक सुजन चापागाईं, संगीत निर्देशक कोविद बज्र, गीतकार हर्क साउद, छायाकार चिन्तन राजभण्डारी र निर्देशक नवीन चौहानलगायतको उपस्थिति थियो ।
केकमा चलचित्रका पोस्टरहरू र चर्चित गीतहरूको झल्को दिने चित्रहरू राखिएको थियो । निर्देशक नवीन चौहानका अनुसार यो केक काट्ने कार्यक्रम कुनै प्रचारात्मक गतिविधि होइन, तर ‘दर्शकसँग खुसी साट्ने र धन्यवाद व्यक्त गर्ने प्रयास’ हो । उनका अनुसार, ‘ऊनको स्विटर’ ले १० करोड क्लबमा प्रवेश गरेपछि गोलाप्रथामार्फत सिनेमा हल छानिएको थियो, जसमा एफक्युब हल परेकाले त्यहीँ कार्यक्रम आयोजना गरिएको हो ।
त्यस अवसरमा हल हाउसफुल थियो र दर्शकको उत्साह चुलिएको देखिन्थ्यो । युनिटले चलचित्र सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेको थियो । निर्देशक चौहानले भने, ‘हामीले कसैलाई भौतिक रूपमा तिर्ने कुरा केही छैन, तर दर्शकलाई माया तिर्नुपर्ने हो । यही माया साट्न केक काट्यौँ ।’
यो चलचित्र हाल नेपालभरका १०० भन्दा बढी शो तथा अमेरिका, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, युरोप, मध्यपूर्वलगायत देशमा यसको प्रदर्शन भइरहेको छ । चलचित्रमा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बू, एलेक्स पारस, विल्सनविक्रम राई, सुरज तमू, भावना खपाङी मगर, सुनील पोखरेललगायत कलाकारको अभिनय छ ।
अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा कमाउन सफल यो चलचित्रलाई फ्रेन्च निर्देशक एरिक भ्यालीले ‘नेपाली समाज र संस्कृतिको संवेदनशील प्रस्तुति’ भनेका छन् । यस्तै, मनीषा कोइरालादेखि बाबुराम भट्टराईसम्म, राजेश पायल राईदेखि विजय लामा र नाजिर हुसेनसम्मले फिल्मको खुलेर प्रशंसा गरेका छन् ।