काठमाडौं, जेठ २१ :

सरकारले घर-जग्गा कारोबारमा कडाइ गर्दै अब सम्पूर्ण कारोबार बैंकिङ प्रणालीमार्फत अनिवार्य गर्ने नियम लागू गरेको छ। 

भूमि व्यवस्थापन तथा अभिलेख विभागले १४ बुँदे निर्देशन जारी गर्दै घरजग्गा कारोबारलाई पारदर्शी र नियमनमा ल्याउने उद्देश्यले नयाँ व्यवस्था लागू गरेको हो ।

सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) निवारण ऐन, २०६४ को प्रभावकारी कार्यान्वयन र गैरकानुनी लगानी रोक्न यो कदम चालिएको हो। आर्थिक मन्दीका बेला समेत घरजग्गा कारोबारमा कडाइ गरिँदैछ ।

अबदेखि सूचीकृत कम्पनीमार्फत मात्र घरजग्गा कारोबार गर्न पाइनेछ। खरिद-बिक्रीमा संलग्न दुवैले बैंक खातामार्फत कारोबार गर्नुपर्नेछ। कारोबार गर्दा चेक वा विद्युतीय माध्यम प्रयोग गर्नुपर्नेछ। सरकारले लिएको यो कदमले घरजग्गा कारोबार पारदर्शी बनाउने र अवैध लगानीको जोखिम न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ ।