काठमाडौं, जेठ २३ :

नेपालका लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) का आवासीय प्रतिनिधि क्योको योकोसुकाले काठमाडौं महानगरपालिकाले आयोजना गरेको सीप मेलाको आफू प्रशंसक रहेको बताएकी छन् ।

मेलाको अवलोकनका क्रममा प्रशिक्षार्थीले तयार पारेको बेकरी चाख्दै उनले यस्तो प्रतिक्रिया दिएकी हुन् । ‘मेलाले प्रशिक्षण मात्र प्रदान गरेको छैन । यसले रोजगार र स्वरोजगारको सम्भावना पनि देखाउँछ । यो मेलाको सवल पक्ष हो,’ उनले भनिन्, ‘समयअनुसारका सीप र सीपयुक्त जनशक्तिले रोजगार पाउने ठाउँ, रोजगार दिने व्यक्ति एकै ठाउँमा भेटिने खालको प्रयत्न अनुकरणीय छ ।’

त्यस क्रममा सहरी योजना आयोगका उपाध्यक्ष एवं मेला निर्देशक समितिका संयोजक डा. सुमननरसिंह राजभण्डारीले सीप प्रदान गर्ने र रोजगार प्रदान गर्ने संघसंस्थासँग सहकार्य गरेर दिगो नतिजा प्राप्त गर्ने संयन्त्र विकास भइरहेको जानकारी गराए ।

आवासीय प्रतिनिधिलाई तालिम संयोजक देवेन्द्र केसीले कक्षाहरुका विषयमा स्थलगत जानकारी गराएका थिए ।

सिकाइ विस्तार गर्नुपर्छ : तोसिमा कार्की
पूर्वस्वास्थ्य राज्यमन्त्री तथा रास्वपाकी नेतृ डा. तोसिमा कार्कीले काठमाडौंको अभ्यास अन्य पालिकामा पनि विस्तार गर्नुपर्ने धारणा राखिन् । मेला अवलोकन गर्दै उनले सीप प्रदान भएपछि व्यक्तिको आय बढ्ने भएकाले यसको लाभ घरघरमा पुग्ने बताइन् ।

अवलोकनका क्रममा उनले प्रशिक्षक र प्रशिक्षार्थीसँग तालिमबारे जानकारी लिएकी थिइन् । यस्तै होटल म्यानेजमेन्ट पेसाका प्रशिक्षार्थीले तयार पारेका खानेकुरा चाखेर व्यावसायिक सम्भावना रहेको प्रतिक्रिया दिइन् ।