बाजुरा, जेठ २३ :

बाजुराको बूढीगंगा नगरपालिका ६ मा पर्ने बाम्का बजारमा ग्यासको सिलिन्डर पड्किँएर आगलागी भएको छ ।

बाम्का बजारमा सञ्चालित नवदुर्गा होटेलमा खाना पकाउने क्रममा शुक्रबार दिउँसो ग्यास सिलिन्डर पड्किएर भएको आगलागीमा ४० भन्दा बढी पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देव चौधरीले जानकारी दिए ।

आगलागीका कारण लाखौंको क्षति भएको अनुमान गरिएको बताए । हावाहुरीका कारण आगो झन्डै ३ घण्टा नियन्त्रणबाहिर रह्यो । क्षतिको आकलन गर्न सकिएको छैन । तीन घण्टामा बल्लतल्ल आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणका लागि सुरक्षाकर्मी, स्थानीय बासिन्दा जुटेका थिए । आगलागीका कारण फाइबर इन्टरनेट र विद्युत् सेवा अवरुद्ध भएका छन् ।
तस्बिर/भिडियो सौजन्य : राजेन्द्रबहादुर बुढा