
नवलपरासीको चोरमारास्थित गिरुबारी खोलाको जीर्ण फलामे पुलमा ४० टनभन्दा बढी तौल बोकेका गाडी चलाउन निषेध गरिएको छ। एक महिनाअघि बढी तौलका गाडीका कारण भाँचिएको पुल मर्मतपछि शुक्रबार साँझदेखि पुनः सञ्चालनमा आएको हो।
५२ वर्षअघि निर्माण भएको पुल जीर्ण अवस्थामा रहेकाले पुनः भाँचिने जोखिम कायम रहेको सडक विभागले जनाएको छ। विभागले पुलका दुवै छेउमा साइनबोर्ड टाँसेर ४० टनभन्दा बढी गाडी आउजाउ नगर्न सूचित गरे पनि साना अक्षर र नेपाली भाषा मात्र प्रयोग भएकाले भारतीय गाडी चालकलाई बुझ्न कठिन भएको छ।
दिनहुँजसो भारतबाट ५०–६० टन तौल बोकेका गाडी सो पुल हुँदै आउजाउ गर्ने गरेकाले जोखिम बढिरहेको छ। पुलको मर्मतका क्रममा केही भागमा मात्रै फलामे पाता फेरिएको र बाँकी संरचना पुरानै भएकाले दुर्घटनाको सम्भावना कायमै रहेको ठेकेदारले जनाएका छन्।
पूर्वी नवलपरासीका प्रहरी प्रमुख यादव ढकालका अनुसार पुलमा गह्रुंगा गाडीलाई पालैपालो पार गराउन प्रहरी खटाइएको छ। मालवाहक ट्रकलाई केही समय डाइभर्सनमार्फत सञ्चालन गरिने पनि उनले जानकारी दिए। सडक विभागका अनुसार असार तेस्रो सातादेखि पुल नजिकै नयाँ पक्की पुलको ढलान सुरु हुनेछ।