
नेपाल फुलकन्ट्याक्ट कराते महासंघको साधारणसभा सम्पन्न भएको छ । राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी सदस्य कमलबहादुर भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा देशभरबाट २४ संघका प्रतिनिधिको सहभागिता थियो ।
कार्यक्रममा प्रमुख अतिथि भट्टराईले महासंघभित्र देखिएको समस्या समाधान गर्न निरन्तर लागिरहेको बताए । महासंघमा परिषद्का कारण नवीकरणदेखि सदस्यतासम्मको विवाद भएको छ । अदालतको फैसलालाई बेवास्ता गर्दै परिषद्ले महासंघको नवीकरणसमेत रोकेको छ ।
साधारणसभामा परिषद्ले गरेको अन्यायविरुद्ध फेरि कानुनी उपचार खोज्नुपर्ने आवाज उठेको थियो । कार्यक्रममा प्रमुख अतिथि भट्टराईले राखेपमै विकृति रहेको बताउँदै त्यसलाई निरन्त्रण गर्न आवश्यक रहेको औंल्याए । उनले भने,‘अदालतले समेत कानुनी मान्यता दिएको महासंघको पक्षमा अधिकांश सदस्य छन् । अब दुईतर्फी राखेर तत्काल समस्या समाधान गर्नुपर्छ । लामो समयसम्म विवाद गरेर कुनै फाइदा हुँदैन अब सबैले गल्ती सुधारौं देशलाई खेलकुदमय बनाऔं ।’ उनले परिषद्ले मान्यता नदिएको विषयमा अध्ययन भइरहेको पनि बताए ।
महासंघका पूर्वअध्यक्ष दमन बस्नेतले परिषद्ले पेलेरै जान खोजे फेरि कानुनी उपचारमा जानबाध्य हुने चेतावनी दिए । उनले भने, ‘आधिकारिक महासंघ यही हो, हामीले राखेपका सदस्यसँग बैठक बसेर यही जानकारी गराएका छौं । परिषद्ले महासंघमा देखिएको समस्या समाधान गर्न राखेपका सदस्य भानु चन्दलाई जिम्मा दिएको छ,’ उनले भने, ‘हामीले भन्नुपर्दा महासंघलाई नवीकरण गर्न नदिनु परिषद्को बदमासी हो । यही अवस्था रहे फेरि कानुनी उपचारमा जान बाध्य हुनेछौं ।’
राखेपका मुख्य प्रशिक्षक कुमार श्रेष्ठले सबै संघलाई पत्राचार गरी साधारणसभा आयोजना गरिएको बताउँदै विवाद गर्नुको कुनै तुक नभएको जिकिर गरे । उनले विवाद समाधान गर्न महासंघ तयार रहेको बताउँदै आफूले पनि परिषद्सँग पहल गर्ने बताए ।
महासंघका उपाध्यक्ष नवराज सेढाईंले २०६१ सालमा दर्ता स्थापना भई २०६८ सालमा राखेपले तयार पारेको विधानबाट दर्ता भएको महासंघ आधिकारिकताको विषयमा कुनै विवाद नभएको उल्लेख गरे ।
उनले केही व्यक्तिहरुको कारण समस्या भएको पनि बताए । अब पनि समस्या समाधान नगरे अदालतले दिएको आदेशअनुसार महासंघ अघि बढ्ने उपाध्यक्ष सेढाईंको चेतावनी छ । महासंघका वरिष्ठ उपाध्यक्ष पदमराज सुवेदीले महासंघले गरेको कामबारेजानकारी गराएका थिए ।
महासंघका सचिव अजय महर्जनले सञ्चालन गरेको साधारणसभामा महासंघका प्रमुख प्रशिक्षक कुमार श्रेष्ठ र चीनमा अन्तर्राष्ट्रिय पदक पाउन सफल खेलाडी बज्रकुमार राईलाई सम्मान गरिएको थियो ।
साधारणसभामा यही साउनमा राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । त्यस्तै एक वर्षभित्र फैसला कार्यान्वयनका लागि परिषद्सँग अविलम्ब छलफल गर्ने, रेफ्री सेमिनार, टेक्निकल सेमिनार, समर क्याम्पलगायत कार्यक्रम आयोजना गर्ने निर्णय भएको छ ।