
पूर्वयुवराज्ञी हिमानी शाह र पूर्वनवयुवराज हृदयेन्द्र शाह शनिबार जुम्ला पुगेका छन्। जुम्ला आगमनको क्रममा स्थानीय बासिन्दाले उनीहरूलाई हर्षोल्लाससाथ स्वागत गरेका थिए।
हिमानी ट्रस्टको पहलमा जुम्लाको गुठिचौर गाउँपालिका–१, मनिसाँघुमा निर्माण हुन लागेको बर्थिङ सेन्टरको शिलान्यास र हिमा गाउँपालिकामा निर्माण सम्पन्न सिंचाइ पोखरीको उद्घाटन कार्यक्रममा सहभागी हुन उनीहरू जुम्ला पुगेका हुन्। मनिसाँघु डोल्पा जिल्लाको सीमावर्ती क्षेत्रमा पर्दछ। बर्थिङ सेन्टरको शिलान्यास आइतबार हुने कार्यक्रम तय गरिएको छ।
यस भ्रमणमा पूर्वयुवराज्ञीसँगै जुम्लाबाट प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाही पनि सहभागी छन्। यद्यपि, जिल्ला प्रशासन कार्यालयबाट उनीहरूको सुरक्षाका लागि कुनै औपचारिक व्यवस्था गरिएको छैन। लिखित प्रोटोकल नभएकाले सुरक्षा दिन नसकिने प्रस्ट पारिएको छ।