काठमाण्डौँ , भदौ २२ :

राष्ट्रपति रामचन्द्र पौडेलले हरितालिका (तीज) पर्वले समाजमा भ्रातृत्व, सदाचार, आपसी एकता र सामाजिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका निभाएको बताउनुभएको छ ।

तीजको अवसरमा शुक्रबार शुभकामना सन्देश दिदैँ राष्ट्रपति पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव, अहिंसा एवम् सामाजिक कुरीतिको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न तीजले सबैमा नयाँ उत्साह र जाँगर प्रदान गर्ने अपेक्षा लिएको उल्लेख गर्नुभएको छ।

राष्ट्रपति पौडेलले तीज पर्वले हामी सबैमा खुसी र मनोरञ्जन साटासाट गर्दै, देशका हरेक सार्वजनिक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्त बनाउँदै सामाजिक, सांस्कृतिक तथा पारिवारिक एकता र सम्बन्ध थप सुमधुर बनाउन सहयोग पुगोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले विश्वभर छरिएर रहेका हिन्दु धर्मावलम्बी महिलाहरूले भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाउने यस पर्वले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको बताउनुभयो ।

समस्त नारी जाति प्रकृति र सृष्टिका दृष्टिले उच्च स्थानमा पर्दछन् भन्दै राष्ट्रपति पौडेलले आदर्शमय सामाजिक वातावरण जीवन्त राख्न, सदाचारयुक्त जीवनशैली अपनाउन तथा देशको कलासंस्कृतिलाई जगेर्ना गर्दै आगामी पुस्तालाई हस्तान्तरण गर्न यस्ता मौलिक चाडको गरिमालाई सम्मानजनक बनाई राख्नु अति आवश्यक रहेकोमा जोड दिनुभएको छ ।

यस पर्व मनाउने सन्दर्भमा यदाकदा देखिने गरेको भड्किलोपन तथा खर्चिलो पनलाई न्यून गर्दै विकृति र विसङ्गतिलाई हटाउँदै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्नु आवश्यक भएको उहाँको भनाइ छ ।