
काठमाडौं-हेटौंडा जोड्ने सडक कान्ति लोकपथ चार दिन बन्द भएपछि आज (आइतबार) देखि खुलेको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका ८ र ललितपुरको बागमती गाउँपालिका २, बगुवा बाग्मती खोलामा निर्माणाधीन बेलिब्रिज जडानको काम गएराति सकिएकाले आइतबार बिहान साढे १० बजेदेखि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए ।
गएको २० गते जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना निकालेर २१ गतेदेखि हिजो (शनिबार) सम्म सडक पूर्ण रुपमा बन्द गरी बगुवामा काम गर्ने जानकारी दिएको थियो । त्यसअनुसार चौबीसै घण्टा कामदार र प्राविधिक खटाएर काम गरिएको छ ।
गएको असोज १०, ११ र १२ गतेको अविरल वर्षापछि बागमती खोलामा भएको बाढीले बागमती पुलको मकवानपुरतर्फको एउटा स्पान बगाएपछि माटो र बालुवाको पहुँच मार्ग बनाएर कान्ति लोकपथ सञ्चालनमा ल्याइएको थियो ।
-फाइल तस्बिर